नेपाली प्रवासी संघ भारत मुम्बई नगर समितिले बोरवलिमा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सदस्य वीरेन्द्र बहादुर रावललाई सम्मान गरिएको छ ।

स्वदेशमा पार्टी बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको तथा प्रवासी संघलाई अतुलनिय सहयोग गरेको भन्दै रावललाई सम्मान गरिएको नेपाली प्रवासी संघ भारत मुम्बई नगर समितिका अध्यक्ष प्रेम मयालले बताए । रावललाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रवासी नेपाली संघ महाराष्टका सह–इन्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र बहादुर शाही सम्मान गरेका हुन ।

कार्यक्रममा नेपाली प्रवासी संघ महाराष्ट्रका अध्यक्ष पदम बम, राज्य समिति सदस्य मनिष कुमार भूमि, महाराष्ट्र राज्य समितिका सदस्य तिलक शाही, राष्ट्रिय युवा संघ नेपाल मोहन्यालका अध्यक्ष दिपेश टमट्टा लगायतकाको सहभागीता रहेको थियो । सोही अवसरमा अभिराज विश्वकर्मा, सुरेश मयाल, सरिता सुनार, नरेन्द्र सिंह टमट्टा, प्रेम सिंह परियार, प्रकाश शर्मा जैसी, गणेश बहादुर खत्री, कमल ओली, बसन्ती खत्री खड्का, पद्मा रावल र महेन्द्र सिंह परियार विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महेन्द्र शाहीले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीले विभेद गरेको बताए । प्रवासमा भएकै कारण सबै खालका अवसरबाट बन्चित गरेको भन्दै शाहीले यस्ता प्रवृतिको अन्त्य गर्न माग समेत गरेका छन् । “प्रवासी संघको सदस्यता नविकरण चल्ने, हामीले पठाएको रेमिट्यान्स चल्ने तर अवसर भने कहिल्यै नपाउने ? यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ । हामी प्रवासमा विशुद्ध नेकपा एमालेको पक्षमा वकालत गर्ने, नेता कार्यकर्ता जन्माउने प्रवासीहरुलाई नेपालमा गरिने व्यवहार चित्त बुझ्दो छन ।” उनले भने

यस्तै कार्यक्रममा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश सदस्य रावलले प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि प्रवासी नेपाली संघले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै पार्टीको नीति र नेतृत्वलाई संरक्षण गर्ने अभियानलाई प्रवासमा पनि प्रभावकारी ढंगले अघि बढाउनु पर्ने धारणा राखे । “प्रवासीले भोग्दै आइरहेका समस्याहरूलाई नेकपा एमाले र त्यसको नेतृत्वले सम्बोधन गर्ने तर्फ जोड दिनुपर्ने अहिलेको अवश्यकता हो । यसका लागि म आफ्नो ठाउँबाट भूमिका खेल्न तयार छु । यती मात्र होइन, भारतमा रहेका नेपालीहरूले भोग्दै आएका थिचोमिचो, अन्याय अत्याचार, शोषण र दमनलाई पुर्ण रुपमा निस्तेज गर्न प्रवासी संगठनहरुले पार्टीसँग समन्वय गर्दै जोडदार आवाज उठाउनु पर्ने देखिन्छ ।” उनले भने ।