कैलालीको बर्दगोरिया गाउँपालिकाले विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका टिकापुरका युवा वैज्ञानिक अरुण लोहारलाई प्रोत्साहनस्वरूप एकथान ल्यापटप सहयोग गरेको छ । उनलाई ल्यापटप सहयोग गर्ने पुर्व घोषणा अनुसार बुधबार कार्यालयमा बोलाई ल्यापटप हस्तान्तरण गरिएको हो ।

गत असोज महिनामा बिश्व अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा प्रतिभा सम्मान समेत प्रदान गरेका थिए । सो अवसरमा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले उनलाई एकथान ल्याप्टप सहयोग गर्ने घोषणा गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले युवा पुस्तामा अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्यापटप सहयोग गरिएको बताए । साथै उनले युवा बैज्ञानिक लोहारले आफ्नो अनुसन्धान र आविष्कारमार्फत कैलाली तथा सुदूरपश्चिम प्रदेशको पहिचान स्थापित गर्न सफल भएको समेत उल्लेख गरे ।

युवा वैज्ञानिक लोहारले गाउँपालिकाबाट प्राप्त सम्मान र प्रोत्साहनले आफूलाई थप जिम्मेवार बनाएको भन्दै आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान र आविष्कारमार्फत देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ल्यापटप हस्तान्तरण पालिका अध्यक्ष कुँवर संगै प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारु, वडा नम्बर ५ का अध्यक्ष भोले राम चौधरी, कृषि शाखा प्रमुख झंकर बहादुर रावत, रोजगार शाखा प्रमुख भुमी शर्मा लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाले यस्ता प्रतिभावान युवाहरूलाई सम्मान तथा प्रोत्साहन गर्दै स्थानीय स्तरमा नवप्रवर्तन, अनुसन्धान र सिर्जनशीलताको वातावरण निर्माण गर्ने नीति अवलम्बन गरेको जनाएको छ।