कैलालीको मोहन्याल गाउँपालिकाको आगलागी पीडित परिवारलाई सहयोग गरिएको छ । पालिकाको वडा नम्बर –३, मुलेकाँडाका स्थानीय देवीसरा ढुंगानाको परिवारलाई खाद्यान्न तथा घरको छाना ढाक्न त्रिपाल सहयोग गरिएको हो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य वीरेन्द्रबहादुर रावलले व्यक्तिगत तर्फबाट मंगलबार पीडित परिवारलाई खाद्यान्न र त्रिपाल सहयोग गरेका हुन्। पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराउन रावल फलेबिसौनाबाट करिब एक घण्टाको पैदल यात्रा गर्दै मुलेकाँडा पुगेका थिए ।

गत शुक्रबार भएको आगलागीमा ढुंगानाको एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। घर जलेपछि समस्यामा परेको परिवारलाई तत्कालको आवश्यकतामा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न तथा त्रिपाल उपलब्ध गराइएको रावलले बताए। रावलले विगत लामो समयदेखि असहाय तथा विपन्न वर्गका परिवारलाई व्यक्तिगत तर्फबाट विभिन्न समयमा राहत तथा सहयोग गर्दै आएका छन्। आगलागीबाट घर पूर्ण रूपमा क्षति भएपछि पीडित परिवार अहिले थप समस्यामा परेको छ। स्थानीय तथा सम्बन्धित निकायबाट समेत आवश्यक सहयोगको अपेक्षा गरिएको छ।






Comments
Latest Comments