कैलालीको घोडाघोडीमा पोषण लेखाजोखा अभियानका लागि समन्वय बैठक सम्पन्न भएको छ । केयर नेपाल र आइडिइ नेपालको आर्थिक सहयोगमा पालिकामा संचालित पोषण परियोजनालाई थप प्रभावकारी बनाउन याक नेपालले शुक्रबार समन्वय बैठक आयोजना गरेको हो।

परियोजना मार्फत पहिचान भएका कडा तथा मध्यम शीघ्र कुपोषण भएका बालबालिकालाई समयमै व्यवस्थापन तथा प्रेषण गर्ने प्रणालीलाई प्रभावकारी बनाउने उदेश्यले छलफल आयोजना गरिएको याक नेपालका कार्यक्रम संयोजन रमन जोशिले बताए ।

पोषण सम्बन्धी सेवाहरूको प्रभावकारी कार्यान्वयन गर्न, सम्बन्धित निकाय तथा सरोकारवाला बिच साझा बुझाइ विकास गर्न, जिम्मेवारी स्पष्ट गर्न र आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउन बैठक आयोजना गरिएको हो । उनले भने ।

उनका अनुसार परियोजनाले कडा तथा मध्यम शीघ्र कुपोषण भएका बालबालिकाको उचाइ अनुसार तौल मापन गरी कुपोषणको अवस्था पहिचान गर्ने तथा कुपोषण देखिएका बालबालिकालाई स्थानीय स्वास्थ्य संस्था र बहिरङ्ग उपचार केन्द्रमा सिफारिस गरिने एवम् आवश्यकता अनुसार एकीकृत शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम मार्फत उपचार तथा व्यवस्थापन गरिदै आएको छ।

पोषण परियोजनाले कैलालीका ५ वटा स्थानीय तहमा सीमान्तकृत समुदाय, हजार दिनका आमा तथा परिवार र प्रजनन उमेर समूहका महिलालाई लक्षित गरी पोषण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।