कैलालीमा जारी कैलाली डान्सिङ स्टार २०८३ को उपाधि भिडन्त थप रोचक बन्दै भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको रोयल डान्स स्टुडियोको आयोजनामा गत जेठ देखी १ सय ४६ जना सहभागी सहित सञ्चालन भएको प्रतियोगिताको सातौँ राउण्ड सकिदा १७ जना मात्रै उपाधि जित्ने दौडमा सुरक्षित छन्। प्रतियोगिता अन्तर्गत हालसम्म अडिसन, मेघा, कोरियोग्राफी, कल्चरल, फिल्मी र ओन स्टाइल राउण्ड सम्पन्न भइसकेका छन्।
प्रतियोगितामा अब जुगलबन्दी, सेमिफाइनल र फाइनल गरी तीन राउण्ड बाँकी छन्। आयोजकका अनुसार आगामी भदौ ६ गते जुगलबन्दी राउण्ड हुनेछ भने त्यसपछि सेमिफाइनल हुँदै आगामी दसैँसम्ममा भव्य रूपमा फाइनल सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताका विजेताले नगद रु. १ लाख १ हजार ११ सहित ट्रफी, मेडल, प्रमाणपत्र र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रो हुनेले नगद रु. ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले नगद रु. ३५ हजार ५ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
नयाँ कलाकार उत्पादन गर्ने र युवाहरूलाई सिर्जनशील काममा व्यस्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोयल डान्स स्टुडियोका सञ्चालक पर्लभ बुढाथोकीले बताए। “कलाकारितामा धेरै सम्भावना बोकेका भाइबहिनीहरू हुनुहुन्छ, तर उहाँहरूका लागि प्रतिभा प्रस्तुत गर्ने सही माध्यम छैन।” सञ्चालक बुढाथोकीले भने, “टिकटक र रिल्सहरूमा मात्र नृत्य गरेर पुग्दैन; उहाँहरूलाई व्यावसायिक रूपमा सिकाउँदै प्रतिभामा निखार ल्याउनु र हौसला बढाउनु हाम्रो मुख्य ध्येय हो।”
उनले पछिल्लो समय युवापुस्ता लागूपदार्थको कुलतमा फसिरहेकाले नृत्यका माध्यमबाट उनीहरूलाई व्यस्त राखी उज्ज्वल भविष्यतर्फ मोड्नु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उल्लेख गरे। साथै डान्स क्षेत्रमा पुरुषहरूको आकर्षण घट्दो क्रममा रहेको र धेरैजसो युवाहरू कुलततर्फ आकर्षित हुनाले यसतर्फ रुचि कम देखिएको बुढाथोकीको भनाइ छ।


Comments
Latest Comments