सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्न धनगढीमा सुरताल म्युजिक टुर हुने भएको छ।
चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को सह-आयोजनामा आगामी मंसिर ४ गते धनगढी स्थित रंगशालामा कार्यक्रम हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
‘अब गुञ्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, प्रमोद खरेल, भाका नेपाल, परम्परा र दि फिरन्तेलगायत राष्ट्रियस्तरका कलाकारले सांगीतिक प्रस्तुति रहने जनाइएको छ।
साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय कलाकारका प्रस्तुतिसँगै सुदूरपश्चिमको स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष कार्यक्रमसमेत समावेश गरिनेछ।

चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका अध्यक्ष विवेककुमार नागरीले देशका विभिन्न स्थानमा सफलतापूर्वक आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पहिलोपटक सुदूरपश्चिममा ल्याउन लागिएको बताए।
उनले कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, पत्रकार, स्थानीय तह, व्यावसायिक संघसंस्था तथा दर्शकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्। आयोजकले यस कार्यक्रममार्फत सुदूरपश्चिमको सांस्कृतिक पहिचान र पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

Comments
Latest Comments