भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढी पीडितलाई कैलालीको सुखडमा रहेको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले विपदबाट प्रभावित तथा पीडित परिवारलाई राहत दिने उदेश्यले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको सहकारीका अध्यक्ष सरोज न्युरेले जानकारी दिए ।

“प्राकृतिक विपत्ति जहाँ पनि जहिले पनि हुन सक्ने कुरा हो । यस्तो अवस्थामा एकाअर्कालाई साथ दिनु पर्ने हुन्छ । हामिले सामाजिक दायित्व बोध गर्दै संस्थाले सक्दो सहयोग गरेको हो।” उनले भने । उनले विपद्को घडिमा पीडित तथा प्रभावित नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

वि.सं. २०६६ सालमा स्थापना भएको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले हाल घोडाघोडी नगरपालिकाका वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ तथा गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलारी गाउँपालिकाको वडा नम्बर ८ मा विद्युत् सेवा विस्तार गरेको छ । संस्थाले हाल करिब ९ हजार घरधुरीमा विद्युत् सेवा पु¥याउँदै आएको जनाएको छ ।