कैलालीको घोडाघोडी नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । नगरपालिकाले असोज १ गतेदेखि ७ गतेसम्म जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

नगरपालिकामा जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला परेपछि रोगको जोखिम न्यूनीकरणका लागि ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत घोडाघोडी नगरपालिका भित्रका ३० वर्ष माथिका करिब ३५ हजार भन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए ।

रोगको जोखिम देखिँदै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार जेई सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लक्षित उमेर समूहका नागरिकलाई खोप अभियानमा सहभागी गराई सङ्क्रमणबाट सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य शाखाले ३० वर्ष उमेर पूरा भएका र सोभन्दा माथिका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य शाखाका अनुसार पहिलो चरणअन्तर्गत झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्की चुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।
स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा हालसम्म जापानिज इन्सेफ्लाइटिसका ८ जना सङ्क्रमित फेला परेका छन् ।

तीमध्ये धनगढी उपमहानगरपालिकामा ३ जना, लम्की चुहा नगरपालिकामा २ जना र घोडाघोडी नगरपालिकामा ३ जना सङ्क्रमित रहेको जनाइएको छ । त्यस मध्ये घोडाघोडीका २ जना सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ । जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल सङ्क्रमण हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका तथा पेटतिर सेतो चिह्न भएका हुन्छन् । यस्ता लामखुट्टेले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्छन् ।

विशेष गरी धान बालीमा जमेको पानी क्युलेक्स लामखुट्टेको प्रमुख वासस्थान मानिन्छ । नेपालमा साउन, भदौ र असोज महिनामा जापानिज इन्सेफ्लाइटिसको जोखिम बढी हुने गर्दछ । यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने, गर्धन दुख्ने तथा घाँटी कडा हुनेजस्ता लक्षण देखिन सक्छन् । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै ज्यानसमेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।