कैलालीको बर्दगोरियामा रहेको बालकन्या माध्यामिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ। विद्यालयले बुधबार एक कार्यक्रमका बिच सामाजिक लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।

शिक्षक अभिभावक संघ अध्यक्ष भक्त बहादुर बिठारीको अध्यक्षतामा सम्पन्न सामाजिक लेखा परिक्षण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए। यस्तै कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, कार्यपालिका सदस्यहरु मिरा आले, सरस्वती विक लगायतको सहभागिता रहेको थियो।

गत आर्थिक वर्षमा विद्यालयले कुल १ करोड २७ लाख ७८ हजार ८ सय ५१ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ। विद्यालयका प्रधानाध्यापक लाल बहादुर गडशिलाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को अल्या रकम २ लाख ७७ हजार ४ सय १९ रहेको छ भने तलब भत्ताका लागि ८६ लाख २४ हजार २ सय ३७ रुपैयाँ आम्दानी देखिएको छ।

यस्तै निःशुल्क पाठ्यपुस्तकका लागि ५ लाख ८१ हजार ८ सय ६, सेनेटरी प्याड व्यवस्थापनका लागि ३ लाख ४७ हजार १ सय ६७, कक्षा ११ र १२ मा अभिभावक सहयोग रकम ११ लाख २१ हजार ६ सय, विद्यालय संचालन अनुदान २ लाख ५० हजार तथा दिवाखाजा तर्फ ९ लाख ७२ हजार ९ सय ८० रुपैयाँ आम्दानी भएको छ भने विविध शिर्षकबाट ६ लाख ३ हजार ६ सय ४१ रुपैयाँ विद्यालयलाई प्राप्त भएको छ।

गत आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको आम्दानी मध्ये १ करोड २२ लाख ५९ हजार ८ सय ३४ रुपैयाँ खर्च गरेको छ भने ४ लाख ४४ हजार १७ रुपैयाँ मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।

सहयोगीदाता तथा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

विद्यालयले सामाजिक परिक्षण कार्यक्रम मार्फत सहयोगीदाता तथा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ।सो विद्यालयमा हाल ३ वटा शैक्षिक कोषहरु संचालनमा छन्। विद्यालय शैक्षिक कल्याण कोषमा करिब ३ लाख जम्मा भएको छ भने टंकेश्वरी शैक्षिक कल्याण कोषमा १ लाख २० हजार र वडा अध्यक्ष शैक्षिक कल्याण कोषमा १ लाख रुपैयाँ जम्मा भएको छ। सो अवसरमा कोषका सहयोगी दाताहरुलाई सम्मान गरिएको हो।

यस्तै एसइई तर्फ उत्कृष्ट नतिजा ल्याउने युद्ध शर्मा रिमाल र लक्ष्मी प्रसाद अधिकारी सम्मानित भएका छन् भने कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी खतिवडा र सुमन कठायत  सम्मानित भएका छन्। यस्तै विद्यालयले उत्कृष्ट नतिजा दिएको भन्दै प्लस टु तर्फका सम्पुर्ण शिक्षकलाई समेत सम्मान गरेको छ।