जेन–जी आन्दोलन सँग सम्बन्धित घटनाका विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको चाँडै बयान लिने जाँचबुझ आयोगले बताएको छ । आयोगको म्याद थपका लागि बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न पुगेको आयोगको टोलीले अर्को साता उनीहरूको बयान लिने दाबी गरेको छ । 

छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने,… ‘बयान सबै भइरहेको छ । त्यो बेलाको प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि अर्को हप्ता बोलाउँछौँ ।’

ओली र लेखक बयानको लागि नआउने भनिरहेका छन् नि भन्ने जिज्ञासामा कार्कीले भने,… ‘पछिको कुरा पछि नै हुन्छ ।’ तर आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ओली र लेखक बयान दिन छिट्टै आउने दाबी गरे । उनले भने,… ‘उहाँहरू बयान दिन छिट्टै आउनुहुन्छ । ढुक्क पर्नुहोस् ।’

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन सँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगको म्याद सकिनै लाग्दा बयानका कामहरू अझै नसकिएकाले सरकार समक्ष १ महिना म्याद थप गर्न आयोगले आग्रह समेत गरेको छ ।