कैलालीको कैलारी गाउँपालिकाको रोयल्टी हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छानबिन थालेको छ । पालिकामा बालुवा उत्खननको रोयल्टी हिनामिना भएको भन्ने प्राप्त उजुरीको आधारमा छानबिन सुरु गरेको आयोगका सूचना अधिकारी चेतराज भट्टले जानकारी दिए । 

नदीजन्य पदार्थको रोयल्टी सङ्कलनका लागि पालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व सङ्कलकलाई २६ थान ठेली दिइएको थियो । तर सङ्कलनको जिम्मा पाएका कर्मचारीले ७ थान ठेलीबाट सङ्कलित ३ लाख २० हजार मात्रै राजस्व दाखिला गरिएको छ । अन्य १९ थान ठेलिको हिसाबकिताब हाल सम्म पनि गुमनाम छ । 

रसिद नम्बर १ देखि २ सय सम्म प्रति रसिद ९ सय ६० का दरले र रसिद नम्बर २ सय १ देखि ३ सय ५० सम्म प्रति रसिद ८ सय ५० का दरले रोयल्टी सङ्कलन गरिएको कार्यालयले जनाएको छ । 

पालिकाले आह्वान गरेको ठेक्का तीन पटक सम्म नलागेपछि गाउँपालिकाले तीन अस्थायी कर्मचारी नियुक्त गरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गरेको थियो। यसका लागि स्थानीय लाहुराम चौधरी, रञ्जिता राना र राजु बराललाई नियुक्त गरिएको थियो ।लाहुराम चौधरीले भने २५ ठेलीबाट सङ्कलित राजस्व पालिकामा दाखिला गरेको दाबी गरेका छन्।

तर पालिकाका अनुसार सङ्कलकलाई जिम्मा दिएको कुल २६ ठेलीभन्दा बाहिर १,३०१ नम्बरको रसिद काटेर रोयल्टी सङ्कलन गरिएको तथ्य भेटिएको छ । यसलाई आधार मान्दा रसिद नम्बर ३५१ देखि १,३०० नम्बरको रसिदको हिसाबकिताब गायब छ । 

बाँकी ठेलीको राजस्व छ महिनासम्म दाखिला नहुनु तथा पालिकाले छानबिन समेत नगर्नुले स्थानीयमा गम्भीर शङ्का उत्पन्न गरेको स्थानीय रेवन्त बोहराको भनाइ छ । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पनि अस्थायी कर्मचारीमार्फत यस्तै अनियमित रूपमा राजस्व सङ्कलन गरिएको थियो । सो आर्थिक वर्षको हिसाबकिताब पनि छानबिन गर्नुपर्ने स्थानीयको माग छ ।