महिलामाथि हुने हिंसाको प्रमुख कारण मध्ये बालविवाह प्रमुख रहेको सरोकारवालाले बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सम्मानित समाजको आधार: शून्य लैङ्गिक हिंसा र दुर्व्यवहार’ विषयक बहसमा बोल्दै वक्ताहरूले यस्तो कुरा बताएका हुन् ।
अहिले प्रविधिको दुरुपयोग गर्दै बाल्यावस्थामै आफूखुसी विवाह गर्नेहरू नै हिंसामा पर्ने वक्ताहरूको भनाइ थियो । ‘बालविवाहकै कारण सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा असर पर्नुका साथै घरपरिवार तथा समाजबाट अपहेलित हुनु पर्ने, युवा अवस्थामा पतिले अर्को विवाह गर्ने तथा अर्थ अभावले महिलाले मानसिक तनाव खेप्नु पर्ने जस्ता हिंसा बढ्दै गएको देखिन्छ ।’ सामाजिक विकास मन्त्रालयका कानुन सचिव दानबहादुर सुनारले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले हाल सम्म पनि ग्रामीण भेगका महिलाहरूमा हिंसाको बुझाई नरहेको बताए । समाज आधुनिकीकरण सँगसँगै हिंसाले पनि स्वरूप परिवर्तन गरेको उल्लेख गर्दै उनले भने,… ‘पहिले पहिले पतिले पत्नीलाई कुटपिट गरेको कुरा बढी आउँथे भने अहिले बढी डिजिटल हिंसाका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन् । जुन समय अनुसारको परिवर्तन हो ।’
कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सङ्गीता अधिकारीले अहिले हिंसा महिलामाथि मात्रै नभई पुरुषमाथि पनि हुने गरेको बताइन् ।

सामाजिक सञ्जालबाट पनि महिला हिंसासँगै पुरुष हिंसा पनि बढिरहेको भन्दै उनले महिला हिंसामा परेर पुनर्स्थापित भए पनि त्यसलाई समाजले हेर्ने दृष्टिकोण गलत भएकै कारण पनि हिंसामाथि हिंसा थपिने क्रम बढ्दै गएको उल्लेख गरिन । ‘हिंसाले कसैलाई अछुतो राख्न सकेको छैन । कुनै न कुनै किसिमले पुरुष पनि हिंसामा पर्ने गरेका छन् । चाहे त्यो श्रम शोषण होस् या अन्य मानसिक हिंसा ।’ उनले भनिन ।
सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको छ । बिहीबार नवौँ शृङ्खलामा सम्मानित समाजको आधार: शून्य लैङ्गिक हिंसा र दुर्व्यवहार’ विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको थियो ।





Comments
Latest Comments