अत्यधिक चिसो बढ्न थालेपछि कैलालीको घोडाघोडी नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सिरक वितरण गरिएको छ । पालिका अन्तर्गत वडा नम्बर ३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यालयले ८२ वर्ष माथिका आफ्ना ५५ जना ज्येष्ठ नागरिकलाई सोमबार एक कार्यक्रमका बिच फाइबर सिरक वितरण गरेको हो । 

वडा अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा सिरक वितरण कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले वृद्ध वृद्धाहरूलाई चिसोबाट जोगाउन सिरक वितरण गरेको बताए । “तराईमा शीत लहर सुरु भएको छ । यसले विशेष गरी ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन्छन् । चिसो कै कारण विभिन्न रोगहरूले पनि आक्रमण गर्न सक्छ । उहाँहरूलाई चिसोबाट जोगाउन सिरक वितरण गरिएको छ । यो निकै राम्रो र प्रभावकारी काम भएको छ ।” उनले भने ।

वडा कार्यालयले सामाजिक सुरक्षा तथा ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानलाई प्राथमिकता दिँदै  यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको वडा अध्यक्ष गौतमले बताए । सिरक पाएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । आगामी दिनमा पनि यस्ता जनपक्षिय कामहरू गर्न उनीहरूले वडा तथा नगरलाई सुझाएका छन् ।