राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएको नेताहरूले जनाएका छन्।

दुवै पक्षका २/२ जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएर प्रस्तावहरूमा लगभग सहमति भए पनि अन्तिम टुंगो भने लाग्न सकेन ।

“हामीहरूबीच मिलेर अघि बढ्ने सहमति भएको छ, आजै टुंग्याउने भन्ने तयारी थियो तर भोलिसम्म तन्कियो, भोली अन्तिम रुप दिने तयारीमा हामी छौ ।” रास्वपा नेता शिशिर खनालले भने ।

सहमतिको नजिक पुगेको बताए पनि के–के विषयमा सहमति जुट्यो भन्नेबारे दुवै पक्षले विस्तृत रूपमा खुलाएका छैनन् । रास्वपाका एक नेताले भने,… “मेयर शाहलाई सहसभापति र प्रधानमन्त्री बनाउने भन्ने कुरा प्रस्तावित छ । केन्द्रीय समितिमा मेयर बालेन शाह पक्षलाई पनि समेट्ने जस्ता कुराहरू छन् ।”

वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ भने त्यसलाई अन्तिम रूप सभापति लामिछाने र मेयर शाहबीच कुराकानी गरेपछि हुने बताइएको छ । नेताहरूका अनुसार मिलेर अघि जाने विषयमा शनिबार टुंगो लाग्नेछ ।

मेयर शाहनिकट नेताहरूले लौरो चुनाव चिह्न लिएर देश विकास पार्टी पनि निर्वाचन आयोगमा अद्यावधिक गरेका थिए । मेयर शाहले अब आफू दलबाट राजनीतिमा होमिने कुरा निकटहरूसँग बताएका छन् ।