पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न निर्वाचनका लागि दर्ता गरेको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने बताएका छन् ।

उनले भनेका छन्,… “भोलि आवश्यक पर्दा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने निर्णय गरेको छु । आगामी दिनमा म देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह तथा व्यक्तिहरूले चाहेअनुसार नै उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

आफू निरन्तर देशको अग्रगमन, समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा रहेको उल्लेख गर्दै उनले बृहत् शान्ति सम्झौता र जेनजी समूहसँग राज्यले गरेको सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सहयोग गर्ने बताएका छन् । उनले आफूले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको समेत उल्लेख गरेका छन् ।