देश आसन्न प्रतिनिधि सभा निर्वाचनमा होमिएको छ। यसका लागि सबै राजनीतिक दलहरू आ–आफ्नो प्रचार तथा मत संकलनमा जुटेका छन् । सोही अनुसार नेकपा एमाले पनि यतिबेला देशभर मतदाता रिझाउन थालेको छ । यतिबेला आसन्न निर्वाचनलाई लिएर एमालेले चुनावी कमाण्ड युद्धस्तरमा परिचालित गरेको छ । केन्द्रीय नेतृत्वको निगरानीमा एमालेले जिल्ला, पालिका, वडा हुँदै टोल कमिटीसम्मलाई सक्रिय बनाएको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा पनि एमालेले घरदैलो अभियान, जनसंवाद र प्रचारप्रसारमार्फत जनमत सिर्जनामा जोड दिएको छ । पार्टीको चुनावी कमाण्ड केवल प्रचारमा सीमित नभई मतदाता मनोविज्ञान बुझ्ने रणनीतिमा केन्द्रित देखिन्छ । यी हुन् निर्वाचन केन्द्रित भई अगुवाइ गर्ने एमाले कैलालीका चुनावी कमाण्डरहरू

कैलाली १ को कमाण्डरः तपेन्द्र रावल
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका चुनावी कमाण्डरको जिम्मेवारीमा तपेन्द्र रावल छन्। हाल उनी पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएर कार्यकाल सफल बनाएका उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार समेत थिए। २०७० को निर्वाचनमा प्रचारप्रसारको जिम्मेवारी सम्हालेका उनीसँग पार्टी परिचालन तथा निर्वाचनका विविध सवालका अनुभवहरू छन्। यिनै अनुभव तथा सिकाइबाट यस क्षेत्रमा आफ्नो पार्टीलाई निर्वाचित गराउने लक्ष्यका साथ उनी चुनावी मोर्चाको कमाण्डमा छन्।

२०६४ यताको संघीय निर्वाचनको अंकगणित गर्ने हो भने यस क्षेत्रमा एमालेले जित हासिल गर्न सकेको छैन। २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनको असफलतालाई यस पटक सफलतामा बदल्ने तयारीमा एमाले छ। यस क्षेत्रमा बलियो प्रभाव राख्ने नागरिक उन्मुक्ति पार्टीको फुट र हालका अन्य उम्मेदवार अस्थिर एवं जनताले परीक्षण गरिसकेका भएकाले पनि यस पटक कैलाली १ मा निर्वाचन जित्न सहज भएको चुनावी कमाण्डर रावल बताउँछन्।

“हामी जित्ने पहिलो आधार त हाम्रो पार्टी र संगठन नै हो। त्यसैमा हाम्रा उम्मेदवार नयाँ, युवा र ’जेन्जी’ भावनाका हुनुहुन्छ। अन्य उम्मेदवारहरू जनताबाट ’टेस्टेड’ भइसकेका छन्। प्रदिप चौधरी म सँगै एउटा पालिकाका अध्यक्ष भइसकेका हुन्। रामलाल जी जनताले दिएको म्यान्डेट बिर्सेर बीचैमा राजीनामा दिएर हिँडेका छन् भने जनक जी पनि कुनै न कुनै बेला जिम्मेवारीमा बसेर जनताद्वारा परीक्षण भइसकेका हुन्। यति मात्र होइन, उनीहरू ३–४ वटा पार्टी फेरिरहने सैद्धान्तिक अडान नभएका उम्मेदवार हुन्। अहिलेको अवस्थामा सबैभन्दा उत्तम र राम्रो विकल्प नेकपा एमाले नै हो भनेर जनताले भनिरहेका छन्,” उनले भने।

विगतमा बलियो प्रभाव राख्ने नागरिक उन्मुक्ति पार्टी अहिले छिन्नभिन्न भएर त्यसका नेताहरू फरक–फरक चुनाव चिन्हबाट चुनावी मैदानमा रहेकाले पनि एमालेका उम्मेदवारलाई विकल्पका रूपमा जनताले मत दिने दाबी पार्टी नेतृत्वको छ।

कैलाली २ को चुनावी मोर्चाको नेतृत्वमा कमला ओली
नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ को चुनावी कमाण्डर कमला ओली हुन्। यही निर्वाचन क्षेत्रलाई आधार बनाएर राजनीतिमा होमिएकी उनीसँग तेस्रो कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्य पदमा रहेर काम गरेको अनुभव छ। यति मात्र होइन, उनी यसअघि २०७४ मा राष्ट्रिय सभा सदस्यमा समेत निर्वाचित भएर काम गरिसकेकी महिला नेतृ हुन्।

यसअघि कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय इन्चार्ज, अखिल नेपाल महिला संघ कैलालीको इन्चार्ज, २०७९ मा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट उम्मेदवार बन्दै विभिन्न निर्वाचन, पार्टी परिचालन, संगठन विस्तार लगायतका गतिविधिहरूको राम्रो र लामो अनुभव उनीसँग छ। आफ्नो खारिएको अनुभवबाट क्षेत्र नम्बर २ मा जित निकाल्न उनी कम्मर कसेर लागेकी छन्।

२०७० सालको निर्वाचनमा कैलालीका ४ क्षेत्र गुमाएको एमालेले यो क्षेत्र अर्थात् कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा भने विजय हासिल गरेको थियो। त्यसबखत मोहनसिंह राठौर विजयी भई संघीय सरकारमा पुगेका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि यस क्षेत्रमा सहज जित निकालेको पार्टीले २०७९ को निर्वाचनमा भने पराजित हुनुपरेको थियो। यस पटक जित निकालेर यो क्षेत्रमा आफ्नो विरासत जोगाउने जिम्मेवारीको कमाण्ड महिला नेतृ ओलीले सम्हालेकी हुन्।

लोकप्रिय पार्टी, असल नीति, सिद्धान्त र कार्यशैलीका कारण पनि यस क्षेत्रमा जित निकाल्न सहज हुने उनको भनाइ छ। “बलियो पार्टी, असल, सशक्त र जिम्मेवार कार्यकर्ता त छन् नै, हाम्रा उम्मेदवार यही समाजमा लामो समयदेखि भिजेको, समाजसेवा गरेको, उत्पादनमा जोड दिँदै रोजगारी सिर्जना गरेको, अझ भनूँ सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न व्यावहारिक रूपमा लागी पर्नुभएका व्यक्ति हुनुहुन्छ। असल व्यवहार र भिजन भएका उम्मेदवारका कारण पनि हाम्रा लागि जित निकाल्न सहज हुनेछ,” उनले भनिन्।

कैलाली ३ को चुनावी मोर्चामा खगेन्द्र ठकुल्ला
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेको चुनावी मोर्चाको नेतृत्वमा खगेन्द्र ठकुल्ला छन्। उनीसँग २०७४ र २०७९ को स्थानीय चुनाव लडेको राम्रो अनुभव छ। मत कसरी तान्ने, मतदाता कसरी रिझाउने र टिम परिचालन कसरी गर्ने भन्ने बारेमा उनी अनुभवी कमाण्डर हुन्। दुई पटक आफैँ स्थानीय चुनाव लडे पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उनी नेतृत्वदायी भूमिकामै रहेर निर्वाचन परिचालनको काम गरेको अनुभव पनि छ।

उनी अहिले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन्। नेकपा एमाले घोडाघोडी नगर कमिटी इन्चार्ज भएर समेत काम गरिसकेका उनी अहिले क्षेत्रीय समन्वय कमिटी कैलाली क्षेत्र नम्बर ३ को संयोजकको रूपमा काम गरिरहेका छन्। कैलालीका अन्य निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय कमिटीको जिम्मेवारी खोसेर माथिल्लो कमिटीका नेताहरूलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको भए पनि कैलाली ३ मा भने क्षेत्रीय कमिटीलाई नै यो जिम्मेवारी दिइएको छ।

निर्वाचनको अंकगणित गर्ने हो भने कैलाली ३ मा एमालेका उम्मेदवार निर्वाचित भएको इतिहास छैन। २०७० र २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले विजय प्राप्त गरेको यस क्षेत्रमा २०७९ को निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीले जित निकालेको थियो। तत्कालीन उम्मेदवार गौरीशंकर चौधरी २०७० मा माओवादी केन्द्रबाट र २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए। तर २०७९ मा नेकपा एमालेबाट उम्मेदवार बनेका उनी भने पराजित हुनुप¥यो। नेकपा एमालेले २०८२ को निर्वाचनमा यसअघि २ पटक निर्वाचित भएर मन्त्री समेत बनेका उनै गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएपछि पार्टीले इतिहास रच्न र व्यक्तिको विरासत जोगाउन सहज हुने अनुमान गरिएको छ।

कैलाली ३ का चुनावी कमाण्डर ठकुल्ला भन्छन्, “हाम्रा उम्मेदवार इमानदार, निष्कलङ्कित र भिजन भएका छन्। यसअघि मन्त्री हुँदा पनि उहाँले गरेको कामको प्रभाव समुदायमा निकै राम्रो छ। उम्मेदवारको राम्रो पक्ष त छँदैछ, त्यसमा राष्ट्र र राष्ट्रियताको सवालदेखि जनजीविकाको सवालसम्ममा पार्टीले गरेको कामको प्रभाव, सशक्त संगठन र पार्टीका असल योद्धा नै हाम्रो जितको आधार हुन्।”

सन्तोष कुमारी थापाः कैलाली ४ को चुनावी कमाण्डर
नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन कमाण्डरको नेतृत्व सन्तोष कुमारी थापाले गरिरहेकी छन्। उनी सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान सांसद, दलको उप–नेता तथा पार्टीको केन्द्रीय सदस्य समेत हुन्।

पार्टीको १०औँ महाधिवेशनमा भूगोलबाट केन्द्रीय सदस्य बनेकी उनी ११औँ महाधिवेशनमा भने खुल्ला कोटाबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन्। पार्टीको वडा तहबाट राजनीतिक यात्रा थालेकी थापाले वडा, नगर, जिल्ला र प्रदेशका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। अखिल नेपाल महिला संघको नेतृत्वदायी भूमिका र क्षेत्र नम्बर ४ को क्षेत्रीय इन्चार्जको जिम्मेवारी तथा निर्वाचन परिचालनको लामो अभ्यासमा उनी जोडिएर काम गरेकी छन्।

उनको कार्यशैली, लगनशीलता र नेतृत्व क्षमताकै कारण यस निर्वाचनमा कैलाली ४ को चुनावी कमाण्डरको जिम्मेवारी पाएकी हुन्। उनको टिम परिचालनको अनुभव, मतदाता रिझाउने कला र नेतृत्व क्षमताले कैलाली ४ मा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ। त्यसैमाथि उम्मेदवार यसअघि २ पटक मन्त्री बनिसकेको र आफ्नो क्षेत्रमा थुप्रै विकासका काम गरेकाले पनि यस पटकको निर्वाचनमा कैलाली ४ मा एमालेको पक्षमा मत खस्ने दाबी निर्वाचन परिचालन कमिटीको छ।

चुनावी कमाण्डर थापा भन्छिन्, “हाम्रा उम्मेदवारको कार्यशैली, स्पष्ट नीति, विकास प्रेमी, सरल स्वभाव, समुदायमा घुलमिल, जनताको भरोसा र बलियो पार्टी संगठन नै हाम्रो जित्ने आधार हो। अघिल्लो पटक गठबन्धन हुँदा हामीले जित निकाल्न सकेनौँ तर यस पटक हामीलाई कसैले रोक्न सक्दैन।”

संघीय निर्वाचनको अंकगणित हेर्दा कैलाली ४ मा पनि एमालेले विजय प्राप्त गरेको इतिहास छैन। २०७० को निर्वाचनमा हार व्यहोरेको एमालेले २०७४ मा भने माओवादी केन्द्रसँग गठबन्धन गर्दा आफ्नो उम्मेदवार नै उठाएन। २०७९ मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमालेका उम्मेदवार लेखराज भट्टलाई कांग्रेसका वीरबहादुर बलायरले पराजित गरेका थिए। भट्ट यसअघि २०७० को निर्वाचनमा माओवादी केन्द्रबाट र २०७४ मा एमालेसँगको गठबन्धनमा पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए। अहिलेको चुनावी मोर्चा सम्हालिरहेकी थापा यस पटक कैलाली ४ मा विजयको झण्डा गाडेर एमालेको नयाँ इतिहास रच्ने दाउमा छिन्।

कैलाली ५ को अग्रमोर्चामा प्रभावशाली कमाण्डर नारदमुनी राना
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले कैलालीका प्रभावशाली नेता नारदमुनी राना निर्वाचन परिचालनको नेतृत्वमा छन्। उनी यसअघि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भई मन्त्री समेत बनेका व्यक्ति हुन्। उनी २०५४ सालमा तत्कालीन धनगढी नगरपालिकाको उप–मेयरदेखि २०७४ को विजय र २०७९ को पराजयसम्मका अनेक आरोह र अवरोहका साक्षी हुन्। पार्टी नेतृत्वमा केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य, कैलाली तथा कञ्चनपुर जिल्ला इन्चार्ज लगायतका जिम्मेवारी पूरा गरेका उनी पार्टी निर्माण, परिचालन र निर्वाचनका कुशल खेलाडी हुन्। उनको यो अनुभवले कैलाली ५ मा एमालेले विजयी झण्डा फहराउने बताइन्छ।

आफू निर्वाचित हुँदा गरेका विकासका काम, पार्टीको प्रभाव र बलियो संगठनसँगै आफ्ना नयाँ उम्मेदवार, युवा उम्मेदवार र नयाँ पुस्ताको जनभावना बुझ्ने उम्मेदवार भएकाले पनि यस क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित भएको चुनावी कमाण्डर रानाको भनाइ छ। यस क्षेत्रमा २०७९ को पराजयलाई यस पटक विजयमा परिणत गर्ने योजना र लक्ष्यमा एमाले रहेको छ। यस्तै कैलाली ५ मा नेपाली कांग्रेस आफ्नो २०७९ को विरासत जोगाउन, नेलापी कम्युनिष्ट पार्टी नयाँ इतिहास रच्न र राष्ट्रिय स्वतन्त्र पार्टी लहर र अवसरको भरपुर फाइदा उठाउने दाउमा लागिपरेका छन्।