आसन्न निर्वाचनलाई केन्द्रित गर्दै नेकपा (एमाले) ले आफ्नो चुनावी अभियानलाई वडास्तरसम्म विस्तार गर्न थालेको छ। सोही अनुसार एमाले कैलालीले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मोहन्याल गाउँपालिकामा वडा सम्पर्क कार्यालय स्थापना गरेको छ।
आइतबार पार्टीका केन्द्रीय सदस्य तथा मूल निर्वाचन परिचालन समिति संयोजक कमलाकुमारी ओली, केन्द्रीय सदस्यहरू झपटबहादुर रावल, पवित्रा तिमिल्सेना तथा कैलाली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्यबहादुर थापालगायतका नेताहरूले सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्।
कैलाली निर्वाचन क्षेत्र नं. २ मा पर्ने कुल २६ वडामध्ये ६ वटा वडा मोहन्याल गाउँपालिकामा पर्दछन्। ती वडाहरूमा पार्टीका चुनावी गतिविधि बढाउन सम्पर्क कार्यालय सञ्चालन गरिएको बताइएको छ। अन्य क्षेत्र जस्तै मोहन्यालमा पनि एमालेको प्रभाव बलियो रहेको र उम्मेदवार सूर्यबहादुर थापाको व्यक्तिगत पकड एवं जनसमर्थन समेत राम्रो रहेको पार्टीको दाबी छ। नेकपा (एमाले) कैलालीले क्षेत्र नं. २ मा चुनाव केन्द्रित रणनीतिलाई थप सुदृढ बनाउँदै वडास्तरमै संगठन विस्तार र जनसम्पर्कलाई आक्रामक रूपमा अघि बढाइरहेको छ।






Comments
Latest Comments