कैलालीको मोहना्याल गाउँपालिका–१ अन्तर्गत तल्लापानी क्षेत्रको जंगलभित्र एक युवतीको शव फेला परेको छ । नवप्रगतिशील सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन । युवतीको मुख जलेको अवस्थामा शव भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ । प्रारम्भिक रूपमा शवको प्रकृति हेर्दा घटनाप्रति प्रहरीको आशंका थप बढेको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । साथै, जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष अनुसन्धान टोली परिचालन गरिएको एसपी चन्दले बताएका छन् । प्रहरीले घटनास्थल आसपासको क्षेत्रलाई सुरक्षा घेरामा राख्दै घटनाबारे गहिरो अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।