निर्वाचनको सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा आयोजना गर्ने भनिएको बृहत् चुनावी सभा अन्तिम समयमा आएर स्थगित गरेको छ। फागुन ९ गतेका लागि तय गरिएको उक्त प्रदेशस्तरीय सभा पार्टी केन्द्रको निर्देशनपछि रोकिएको हो।

​रास्वपा रुपन्देही क्षेत्र नम्बर ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले दिएको जानकारी अनुसार, केन्द्रबाट सभा स्थगित गर्न विशेष निर्देशन आएको हो। ​सभा स्थगित हुनुका पछाडि आधिकारिक र राजनीतिक दुई पक्षीय कारणहरू देखिएका छन् । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन’ लगायतका विशेष कारणले हाललाई सभा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।
​
राजनीतिक वृत्तमा भने यसलाई दाङमा घटेको पछिल्लो घटनासँग जोडेर हेरिएको छ। गएराति दाङमा रास्वपा समर्थकहरूले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीमा पनि तनाव सिर्जना हुन सक्ने डरले सभा स्थगित गरिएको आशंका छ ।
​
​सभाका लागि भैरहवामा प्रचार-प्रसार, पत्रकार सम्मेलन र स्टेज निर्माणको काम समेत धमाधम भइरहेको थियो। अन्तिम समयमा सभा रोकिएपछि स्थानीय कार्यकर्ता र समर्थकहरू अन्योलमा परेका छन्। ​एमाले कार्यकर्ताहरू आफ्ना पार्टी नेतृत्व र झण्डाप्रति भएको दुर्व्यवहारलाई लिएर रुष्ट छन्। निर्वाचनको मुखमा दलहरूबीच बढ्दो यो टकरावले चुनावी सुरक्षा र सौहार्दतामा समेत चुनौती थपेको छ।