आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कैलाली जिल्लासँग जोडिएका नेपाल–भारत सीमा नाकाहरू चार दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबार एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने र सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचना अनुसार आगामी फागुन १८ गते (सोमबार) राती १२ः०० बजेदेखि फागुन २१ गते (बिहीबार) राती १२ः०० बजेसम्म भारतसँग जोडिएका सबै नाकाहरू पूर्ण रूपमा बन्द रहनेछन् । मतदानको अघिल्लो दिन अर्थात् फागुन २० गते (बुधबार) राती १२ः०० बजेदेखि मतदान कार्य नसकिँदासम्म अनुमति प्राप्त बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

निर्वाचनका क्रममा नाका र सडक बन्द भए तापनि एम्बुलेन्स, शव वाहन, अस्पताल सेवाका सवारी, दमकल, खानेपानीका ट्याङ्कर, विद्युत सेवा, दूरसञ्चार सेवा नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक नियोगका सवारी साधन र विशेष अनुमति प्राप्त गरेका अन्य सवारी साधनहरु भने सुचारु रहने छन् ।
प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै यो नियम पालना गर्न र आवश्यक सहयोग पु¥याउन सर्वसाधारणलाई अनुरोध गरेको छ । यो निर्णयसँगै फागुन १८ देखि २१ गतेसम्म नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूले वैकल्पिक समय व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।






Comments
Latest Comments