कैलालीको घोडाघोडी नगरपालिका निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । नेपालमा भएका विभिन्न निर्वाचनमा यस क्षेत्रले सांसद त परको कुरा हो, सांसदको दौडका लागि कुनै पनि पार्टीबाट टिकट समेत पाएको इतिहास थिएन । तर फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत प्रसाद जोशी विजयी भएका छन् । उनी विजयी भए सँगै घोडाघोडी क्षेत्रले इतिहासमै पहिलो पटक आफ्नो भूगोलको प्रतिनिधि ९सांसद०भएको छ । यस अघिका विभिन्न निर्वाचनमा भजनी, जोशीपुर, कैलारी, गौरिगंगा क्षेत्रका प्रतिनिधिहरू निर्वाचित हुने गरेका थिए तर जोशी घोडाघोडी १० कै स्थानीयवासी हुन ।
जोशीले कैलाली ३ बाट २०६४ को संविधान सभा निर्वाचनबाट निर्वाचित वीरमान चौधरीलाई ८ हजार ३ सय ७६ मतले पछि पार्दै विजयी बने । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत प्रसाद जोशी २० हजार ३ सय ५९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे । यस्तै नेपाली काँग्रेसका भीम बहादुर बडूवालले ९ हजार ७ सय ६ मत, नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ६ हजार ७ सय ४७ मत, एमालेका गौरीशङ्कर चौधरीले ४ हजार ७ सय ५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले २ हजार ३ सय ४७ मत प्राप्त गरे । प्रतिस्पर्धामा रहेका एमालेका गौरीशङ्कर चौधरी यसै क्षेत्रबाट निर्वाचित पूर्व मन्त्री हुन भने नेकपाका वीरमान चौधरी पनि यसै क्षेत्रबाट निर्वाचित संविधान सभा सदस्य हुन ।
यस्तो छ, विगतको निर्वाचन परिणाम
२०४८ सालमा भएको दोस्रो आम निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका रामजनम चौधरी विजयी भएका थिए । उनी साबिक जोशीपुर गाविसका स्थानीय हुन । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनै चौधरी निर्वाचित भएका थिए । यस्तै २०५६ सालमा भएको अर्को निर्वाचनमा नेपाली काङ्ग्रेसबाट साबिक धनगढी नगरपालिकाका पुष्करनाथ ओझा विजयी भएका थिए । २०६४ सालमा देशको पहिलो संविधान सभा निर्वाचन भयो । यो निर्वाचनमा माओवादी केन्द्रका वीरमान चौधरी विजयी भएका थिए । उनी कैलारी गाउँपालिकाका स्थानीय हुन । उनै चौधरी अहिले रास्वपाका जोशी सँग भारी मतले पराजित भएका हुन ।
यस्तै देशमा २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भयो । यस निर्वाचनमा नेकपा माओवादी केन्द्रका गौरीशङ्कर चौधरी विजयी भए । उनी साबिक हसुलिया गाविसका स्थानीय हुन । २०७४ सालमा सङ्घीयता कार्यान्वयन पछिको पहिलो निर्वाचन भयो । यस पटक पनि यो क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टीका गौरीशङ्कर चौधरी दोस्रो पटक निर्वाचित भए । उनी यस पटक नेपाल सरकारका कृषि मन्त्री समेत बने । यसै क्षेत्रबाट दुई पटक निर्वाचित भएका तथा मन्त्री समेत बनिसकेका गौरीशङ्कर चौधरीले पनि अहिले रास्वपाका जगत प्रसाद जोशी सँग १५ हजार ६ सय ७ मतले पराजित भए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्तिका गंगाराम चौधरी निर्वाचित भए । उनी भजनी नगरपालिकाका स्थानीय हुन ।

यस पटक घोडाघोडीले प्रतिनिधि सभामा आफ्नो भूगोलको सांसद पाएपछि यस क्षेत्रको विकास नयाँ मोडलमा अघि बढ्ने अपेक्षा गरिएको छ । रास्वपाको एकल र स्थायी सरकार बन्ने भएपछि झन् यस क्षेत्रमा विकास लहर छाउने धेरैको आकलन छ ।





Comments
Latest Comments