वातावरण संरक्षण र स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै कैलालीको बर्दगोरिया गाउँपालिकामा सुधारिएको चुल्हो वितरण अभियान गरिएको छ । एकता समाज काठमाण्डौको आयोजना र बर्दगोरिया गाउँपालिकाको समन्वयमा वातावरण संरक्षण शिविर अन्तर्गत सो कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाका विभिन्न वडाहरूमा गरी कुल ४ हजार ७ सय ९८ थान सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य राखिएको छ। आजबाट सुरु भएको चुल्हो वितरण कार्यक्रम आगामी २१ गतेसम्म सञ्चालन हुनेछ। वडा नम्बर १ मा ९४१ थान, वडा नम्बर २ मा ७२३ थान वडा नम्बर ३ मा ७७५ थान, वडा नम्बर ४ मा १०२८ थान, वडा नम्बर ५ मा ७४४ थान र वडा नम्बर ६ मा ५८६ थान सुधारिएको चुल्हो वितरण गरिने एकता समाज काठमाण्डौले जनाएको छ ।

स्थानीय बासिन्दालाई घरभित्रको धुवाँबाट हुने श्वासप्रश्वास सम्बन्धी रोगहरूबाट बचाउन यो कार्यक्रम कोसे ढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। सुधारिएको चुल्होको प्रयोगले दाउराको खपत कम हुने भएकाले वन विनाश रोक्न र वातावरणीय सन्तुलन कायम राख्न समेत यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गाउँपालिकालाई स्वस्थ र स्वच्छ बनाउने अभियानमा यो सहयोग महत्त्वपूर्ण रहेको बताउँदै उहाँले अहिलेको चरणमा समेटिन नसकेका वा विभिन्न कारणले छुटेका अन्य परिवारका लागि पनि पुनः चुल्होको व्यवस्था गरिदिन आयोजक संस्थालाई आग्रह गर्नु भएको छ। यो अभियानसँगै बर्दगोरियाका ग्रामीण बस्तीहरूमा आधुनिक र वातावरणमैत्री भान्साको अवधारणाले थप सार्थकता पाउने देखिएको छ।


Comments
Latest Comments