कैलालीको पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर-४ स्थित बलियामा रहेको कार्यालयको शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले नागरिकलाई घरदैलोमै सहज सेवा प्रवाह गर्ने हेतुले कार्यालय सञ्चालनमा आएको बताए । “तपाई हामी सबैको साथ र सहयोगले सेवा कार्यालय सञ्चालन गर्न सफल भएका छौ । कार्यालयबाट प्रवाह हुने सेवा थप गर्दै जानेछौ ।” उनले भने । 

सङ्घीयता कार्यान्वयन अघि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट मात्रै प्रवाह हुने यातायात सम्बन्धी सेवाहरू प्रदेश सरकार गठन भए यता डोटी र डडेलधुरामा पनि कार्यालय स्थापना गरि सेवा दिन थालिएको थियो । कैलालीको लम्किमा सञ्चालनमा आएको यो सुदूरपश्चिमको पाचौं  यातायात कार्यालय हो । 

सेवा कार्यालयको शुक्रवार विधिवत् उद्घाटन गरिए पनि कार्यालयले गत चैत २४ गतेदेखि नै परीक्षणका रूपमा सेवा प्रवाह गर्दै आएको थियो । हाल सम्म बिल बुक नवीकरण सेवा मात्रै दिन थालेको कार्यालयले सो बापत यो अवधिमा १३ लाख राजस्व सङ्कलन गरेको बताइएको छ । 

कार्यालय सञ्चालनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि सात कोठाको भवन र पार्किङ क्षेत्र निःशुल्क उपलब्ध गराएका छन् । आवश्यक पर्ने थप सामान्य अस्थायी संरचना निर्माणमा समेत सहजीकरण गर्ने रावतले प्रतिबद्धता जनाएका छन् । 

कैलालीका पूर्वी क्षेत्र तथा मोहन्यालका नागरिकले यातायात सेवा लिन दुरीका हिसाबले निकै टाढा पर्ने भएकाले स्थानीय स्तरमा सेवा कार्यालय स्थापनाको माग गर्दै आएका थिए । वर्षौँदेखिको आफ्ना माग पूरा भएपछि स्थानीयमा खुसीयाली छाएको छ । 

शुक्रवार सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयक, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रामेश्वर चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । लम्किचुहा-४ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लम्किचुहा-३ का वडा अध्यक्ष लव बहादुर शाहीले गरेका थिए ।