सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । गत भदौ २४ गते जेन्जी आन्दोलनमा आगलागीमा परेको प्रदेश सभा भवन मर्मत नहुँदा बैठक अनिश्चित बनेको हो ।
मर्मतका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरी काम सुरु गरेको भए पनि मर्मतको काम भने सकिएको छैन । सोही बजेटबाट हाल प्रदेश सभा भवन मर्मतको काम जारी रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताएका छन् । उनका अनुसार प्रदेश सभा भवन मर्मत गर्न अझै करिब दुई हप्ता लाग्ने छ भने मर्मतको काम सकिएपछि फर्निचर र उपकरण जडानमा थप समय लाग्ने छ ।
भवन मर्मतका लागि २० लाख बजेट दिएको प्रदेश सरकारले फर्निचर र उपकरणका लागि भने बजेट दिएको छैन । जसका कारण प्रदेश सभाले फर्निचर र उपकारणका लागि दातृ संस्थाहरू सँग सहयोग माग गरेको छ । प्रदेश सभामा फर्निचर र आवश्यक उपकरण जडान गर्न युएनडिपी, युएनएफपी लगायतका दातृ संस्थाले सहयोग गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सञ्चालन नहुँदा प्रदेश सरकारको कानुन निर्माण तथा ऐन संशोधनको काम प्रभावित बनेको छ ।






Comments
Latest Comments