सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको प्रवर्द्धन गर्न कैलाली उद्योग वाणिज्य सङ्घ र हेल्भटासबीच सहकार्य हुने भएको छ ।
यसका लागि कैलाली उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष पुष्करराज ओझा र हेल्भटासतर्फबाट दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना–दोस्रो तथा युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमका टिम लिडरहरूले हस्ताक्षर गरेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत दिनेशराज ओझाका अनुसार सम्झौतापछि सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी सहभागिता बढ्ने अपेक्षा गरिएको छ। यो सम्झौताले सुदूरपश्चिम प्रदेशका युवालाई स्वदेशमै सीपमूलक रोजगारीका अवसर सिर्जना गर्न समेत टेवा पुग्ने विश्वास गरिएको छ।
सम्झौताबारे बोल्दै सङ्घका अध्यक्ष पुष्करराज ओझाले युवालाई श्रम बजारको मागअनुसारको सीप विकास गराई रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्र र विकास साझेदार बिचको सहकार्यले प्राविधिक शिक्षालाई व्यवहारमुखी, रोजगारमुखी र परिणाममुखी बनाउन सहयोग पुग्ने बताए।






Comments
Latest Comments