नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान स्थलमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आइपुगेपछि मतदान सुरु भएको हो । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानै आएर मतदातासँग मत मागिरहेका थिए ।
मङ्गलवार बिहान १० बजे मतदान सुरु हुने भनिए पनि उम्मेदवारको संशोधित सूचीका कारण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण बुधवार बिहानलाई सारिएको थियो ।
एमालेमा ३ सय १ केन्द्रीय सदस्य लागि ६ सय ६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ मतदाता सहभागी छन् ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एक जनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ । निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ ।

केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् । केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् । ३ उप-महासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता जनाइएको छ।





Comments
Latest Comments