अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको सङ्ख्या बढ्दै गएको बताउँदै सम्बद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरूले यस्तो बताएका हुन ।
बहस कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समयमा धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको बताए । उनले भने,… ‘हरेक १० जना वयस्क मानिस मध्ये १ जनामा मानसिक स्वास्थ्य समस्याले पिरोलिरहेको छ । जुन तथ्यले हाम्रो समाजमा विकराल रूप लिन सक्छ ।’
अहिलेको खानपान, आवश्यकता र समाजले गर्दा मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको उनले औँल्याए । उनले भने,… ‘मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएकाले नेपाल सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधी मध्ये ११ प्रकारका मानसिक स्वास्थ्य सम्बन्धीका औषधिहरू रहेका छन् ।’ ती औषधिहरू अहिले स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य चौकीमा निःशुल्क पाइने गरेको उनले बताए ।

गाउँघर स्तरका स्वास्थ्य संस्थाहरूमा मानसिक स्वास्थ्यका सेवाहरू नभएको बताउँदै उनी भन्छन्,… ‘सरकारले नीतिगत काम त गरेको छ । तर त्यहाँ चाहिने चिकित्सकका साथै पूर्वाधारमा भने काम भएको छैन ।’
बहसमा बोल्दै अर्का वक्ता डा. सुशान अर्यालले धेरैजसो विद्यार्थीहरूमा अहिले मानसिक स्वास्थ्य समस्या देखिएको बताए । उनले भने,… ‘किशोरावस्थामा बढी मानसिक स्वास्थ्य समस्या देखिन्छ, यो बेला मन मिल्ने साथीभाइसँग आफ्ना पीडाहरू व्यक्त गर्ने, रमाइलो ठाउँमा घुमघाम गर्ने र घरपरिवारसँग बस्ने गर्नाले पनि केही हदसम्म समस्या समाधान हुन्छ ।’ मानसिक समस्या भएमा सबैभन्दा राम्रो उपाय ध्यान गर्नु पनि भएको उनले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तनाव व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्यादेखि पारिवारिक बेमेल, गरिबी, दीर्घ रोगी र व्यावसायिक असफलता बढी रहेको र यसका कारण अपराध समेत बढ्दै गएको उल्लेख गरे । उनले भने,… ‘मानसिक स्वास्थ्य अवस्थालाई ठिक ठाउँमा राख्न एक्लोपन छाडेर मन मिल्ने साथीभाइको सङ्गत गर्ने, खेलकुदमा व्यस्त रहने र आफ्नो काममा तल्लीन भइरहनु जरुरी छ ।’ अहिले आपराधिक घटना घट्नुमा पनि मानसिक स्वास्थ्य समस्याले नै बढी देखिन्छ । मानसिक स्वास्थ्य समस्या कम गर्न दुर्व्यसनीमा मानिस फस्छ, त्यहीबाट नै आपराधिक घटना बढ्दै गइरहेको छ ।’ मानिसका इच्छा आकाङ्क्षा धेरै ठुला हुनु र ती परिपूर्ति गर्न नसक्दा पनि आत्महत्या जस्ता घटना घटिरहेको उनले बताए ।
सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । बुधवार आठौँ शृङ्खलामा बदलिँदो समाज र तनाव व्यवस्थापन विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।





Comments
Latest Comments