कैलालीको धनगढीमा पुस ४ गते देखी भुवा महोत्सव तथा भुवा चाली खेल प्रतियोगिता हुने भएको छ । बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिने बाजुरेली सेवा समाज धनगढीले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
भुवा चाली खेल प्रतियोगिताका विजेताले नगद ५० हजार, उप–विजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने टिमले नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुने अन्य टोलीलाई प्रतिटिम दश हजार नगद सहित सहभागी प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस महोत्सवले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति संरक्षण तथा पुस्ता हस्तान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । महोत्सवमा भुवा चाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा सामुदायिक सद्भाव सुदृढ बनाउने गतिविधिहरू प्रदर्शन गरिने छ ।
बाजुरेली सेवा समाज धनगढीको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको अभिभावकत्वमा पुस ४ गतेदेखि ६ गतेसम्म यो महोत्सव सञ्चालन हुने छ ।






Comments
Latest Comments