कैलालीको सुखडमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ३ सय ८४ नागरिक लाभान्वित भएका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ को समन्वयमा गेटा आँखा अस्पतालले आयोजना गरेको शिविरमा२ सय ३१ महिला र १ सय ५३ पुरुषले आँखा परीक्षण सेवा लिएका हुन ।

शिविरबाट ५२ जनालाई चस्मा र औषधी वितरण गरिएको छ । ७३ जनालाई मोतिया बिन्दुको समस्या देखिएको चिकित्सकले बताएका छन् । उनीहरूलाई तत्काल अप्रेसन गर्नु पर्ने भएकाले गेटा आँखा अस्पतालमा उनीहरूको थप उपचार निःशुल्क हुने जनाइएको छ । मानिसहरूमा हुने आँखा सम्बन्धीको समस्या निराकरण गर्ने उद्देश्यले अस्पतालले बेलाबेला विभिन्न ठाउँमा यस्ता शिविरहरू सञ्चालन गर्दै आएको छ । 

दुरी, अभाव वा विविध कारणले सहज रूपमा आँखा चेकजाँच गराउन नसक्नेहरूका लागि लक्षित गरी सुखडमा शिविरको आयोजना गर्न पहल गरिएको वडा अध्यक्ष घनश्याम ओझाले बताए । “हुने खानेहरू त सहजै जता गएर पनि चेकजाँच गर्न सक्छन् । तर विपन्नता, अभाव वा विभिन्न कारणले आँखा जस्तो संवेदनशील विषयमा पनि मानिसहरूले लापरबाही गरेको देखियो । यस्ता समस्या हल गर्ने उद्देश्यले हामीले शिविर आयोजना गरेका हौ ।” उनले भने । 

उसो त नगरपालिकाले सामान्य उपचारका लागि वडा नम्बर १ को परिसरमा आँखा उपचार केन्द्र नै सञ्चालन गरेको छ । तर चिकित्सकहरूले नै चेकजाँच गर्ने, थप उपचारमा पनि केही छुट हुने तथा निःशुल्क अप्रेसन हुने भएकाले शिविरमा मानिसहरूको सहभागिता बढी हुने गरेको छ ।