कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । जस अन्तर्गत शनिवार मनोनयन दर्ता सकिएको छ । क्याम्पस नेतृत्वको लागि डबल शाह र लक्ष्मण न्युरे चुनावी मैदानमा छन् ।
सधैँ जसो राजनीतिक खिचातानी देखिने क्याम्पस सञ्चालक समितिको निर्वाचन यस पटक भने अलि भिन्न जस्तै देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले अध्यक्षका उम्मेदवार लक्ष्मण न्युरेलाई सघाउने लगभग निश्चित जस्तै छ भने हाल सम्म राजनीतिमा नखुलेका डबल शाह आफ्नो प्यानल सहित स्वतन्त्र उम्मेदवार बनेका छन् ।
सबै दलहरूले सहयोग गर्दा अध्यक्षमा न्युरेको जित सुनिश्चित देखिएको छ भने यो निर्वाचनमा दल भन्दा पनि मतदाताको मन जित्ने दाउमा शाह छन् । शाहले आफ्नो उपाध्यक्षमा भानुभक्त आचार्यलाई अघि सारेका छन् भने न्युरेले आयुष जोशीलाई अघि सारेका छन् ।

खुल्ला ३ जना सदस्यका लागि प्रेम प्रसाद कँडेल, जनक जोशी, रमेश कुमार बस्नेत र सीता कुमारी चौधरी गरी ४ जनाको उम्मेदवारी परेको छ । १ जना महिला सदस्यका लागि नारायणी कुमारी गौतम र राधा कुमारी पाण्डेको उम्मेदवारी परेको छ । २ जना दलित/जनजाति सदस्यका लागि मनोज कुमार सुनार, जगत बहादुर विश्वकर्मा र अमन चौधरी गरी ३ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै १ जना लेखा समिति संयोजकका लागि हेमन्त शाही र भोजराज जोशीको उम्मेदवारी परेको छ भने लेखा समिति सदस्यमा खेम ढुङ्गाना र चक्र बहादुर बम निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन तालिका अनुसार यही पुस ९ गते मतदान हुनेछ ।





Comments
Latest Comments