बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।

कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा कैलाली जिल्लाका १३ वटै स्थानीय तहका क्लबहरूको सहभागिता रहनेछ। लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिता यही पुस १८ गतेदेखि २६ गतेसम्म धनगढी रंगशालामा हुनेछ।

प्रतियोगितामा पहिलो पटक विकट क्षेत्रका चुरे र मोहन्याल गाउँपालिकाका टोलीहरू सहभागी हुँदैछन्। साथै टिकापुर, लम्कीचुहा, भजनी, जानकी, जोशीपुर, बर्दगोरिया, घोडाघोडी, गौरीगंगा, कैलारी, गोदावरी र धनगढीका गरी १३ टोलीले सहभागिता जनाउनेछन्।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले कैलाली जिल्ला फुटबल संघ फुटबलजन्य गतिविधि आयोजना गर्ने सन्दर्भमा सुदूरपश्चिम मात्र नभई देशकै लागि उदाहरणीय रहेको बताए।


उनले देशको खेलकुद विकास र खेलाडीले खेलकै माध्यमबाट जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै बद्री कुन्ता मेमोरियल ट्रष्टसँगको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताप्रति खुशी व्यक्त गरे। साथै, आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।


बद्री कुन्ता मेमोरियल ट्रष्टका संस्थापक सदस्य गोकर्ण जोशीले खेल र खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म देशको खेलकुद क्षेत्र अगाडि बढ्न नसक्ने बताए। समाज रूपान्तरणमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले कैलाली जिल्ला फुटबल संघसँग सहकार्य गर्दै फुटबल विकासमा निरन्तर लाग्ने बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले प्रतियोगितामार्फत खेलाडी र खेलप्रतिको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य रहेको बताए।

बद्री कुन्ता मेमोरियल ट्रष्टलाई सहकार्यका लागि धन्यवाद दिँदै उनले यो सहकार्य कैलाली जिल्लाको फुटबल विकासका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

साथै विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका निर्देशक हर्क दानपालीले जानकारी दिए।