कैलालीको अध्यागमनको काम रोकिदा राजस्व संकलन प्रभावित बनेको छ । प्रक्रिया पु¥याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको पछि राजस्व संकलन समेत प्रभावित बनेको हो ।

गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागनमा सीमापारी भारतीय पक्षले रोक लगाएको छ । गौरीफन्टामा आवागमन रोकिँदा यो नाका प्रयोग गर्दै आएका यात्रुहरुले कञ्चनपुरको गड्डाचौकी सीमानाका प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ ।

धनगढी स्थित अध्यागमन कार्यालयका सूचना अधिकारी शान्ति बुढाका अनुसार गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग साधनस्रोत नभएको भन्दै गत वर्ष जनवरी अर्थात् पुस महिना देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ । जसका कारण गौरीफन्टा पुग्ने पाहुनाहरुले गन्तव्यतर्फ जान नपाएर समस्या झेल्नु परेको छ ।

अध्यागमन कार्यालयले कैलालीले अध्यागमन सम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारी पुग्ने यात्रुलाई आवागमन भने गर्न दिइएको छैन । हाल कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिने लगायत सेवा उपलब्ध गराउँदै आएको छ ।

कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए । त्यसपछि भने काम रोखिएको छ । अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन् ।