कुनै समय सुदूरपश्चिम तथा कर्णाली प्रदेशका गाउँघरमा प्राय दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडाहरु अहिले लोपेन्मुख अवस्थामा छन् । आधुनिक प्लास्टिक तथा धातुका सामग्रीको प्रयोगकर्ता बढेसँगै काठका भाडाहरु लोपोन्मुख मात्र भएका छैनन काठका भाँडा बनाउने परम्परागत पेशानै सङ्कटमा परेको छ ।

बाजुरमा चदारा समुदायले पुस्तौँदेखि गर्दै आएको काठका भाँडा बनाउने ‘भाँडी’ पेशा अहिले अस्तित्व जोगाउनै मुस्किल छ । मेहनत अनुसारको मूल्य नपाइनु, बजारको अभाव र सरकारी संरक्षण नहुँदा यो पेशाबाट गुजारा चलाउनै नसकिने अवस्था आएको काठका भाँडा बनाउने व्यवसायीहरूको दुखेसो छ ।

बाजुराको बडिमालिका नगरपालिका–५ का काठका भाँडा बनाउने व्यवसायी कृष्ण चदाराका अनुसार यो पेशाबाट परिवार पाल्नै मुस्किले छ । “पहिले गाउँमा काठका भाँडाको माग अत्याधिक हुन्थ्यो । अहिले त बनाएका भाँडा बेच्नै सकिँदैन । पहिले काठबाट ठेकी, कचौरा, तुरी लगायतका सामग्री निर्माण गथ्र्यौ । गाउँघरमा यी भाँडाको प्रयोग धेरै थियो । त्यति बेला नगदभन्दा पनि अन्न लिने ‘बालिघरे प्रथा’ थियो । काठका भाँडा बनाए बापत धान, गहुँ लगायत अन्न प्राप्त हुन्थ्यो । अहिले भने त्यो अवस्था छैन ।” उनले भने ।

आधुनिकता सँगै बजारमा प्लास्टिक, स्टिल र एलुमिनियमका भाँडाको प्रवेश भएपछि काठका भाँडा ओझेलमा परेका हुन । सस्तो, हलुका र सजिलै पाइने आधुनिक सामग्रीले परम्परागत काठका भाँडालाई विस्थापित गरेको हो । स्थानीयस्तरमा यो पेशाको संरक्षणका लागि कुनै ठोस कार्यक्रम नभए चदारा समुदायको परम्परागत पेशा इतिहासमै सीमित हुने खतरा समेत बढ्दै गएको छ ।