कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो ।
निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर रु दुई लाख लाख ५० हजार लागत साझेदारी गरेका छन् ।
बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८ मा ५ वटा गरी कूल २९ सुरक्षित आवास निर्माण गरिएका छन् । नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत घर निर्माण गरिएको निर्देशक रेग्मीले बताउनुभयो ।
“सुरक्षित आवास परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण गर्दै कमजोर संरचनामा बसोबास गर्दै आएका परिवारलाई नगरपालिकासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरी बसोबासको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “गत वर्ष पनि नगरपालिकासँग सहकार्यगरी वडा नं ९ मा १० र वडा नं १० मा ५ वटा गरी १५ सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेका थियौँ ।”

सुरक्षित आवास निर्माणले नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई सुरक्षा भएको बताउनुभयो । नगरप्रमुख पोतीलाल चौधरीले सुरक्षित आवास निर्माण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै गरीब तथा विपन्न नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।





Comments
Latest Comments