पछिल्लो समय लोप हुँदै गएको परम्परागत पञ्चेबाजा बाजुराका गाउँ बस्तीमा पुनः बज्न थालेको छ । विवाह, व्रतबन्ध, पूजाआजा तथा विभिन्न शुभ कार्यमा पञ्चेबाजाको प्रयोग बढ्दै गएसँगै स्थानीय संस्कृतिको पुनर्जीवन सुरु भएको हो।
आधुनिक बाजा र डिजे साउन्डको प्रयोग बढेसँगै ओझेलमा परेको पञ्चेबाजा पछिल्ला वर्षहरूमा पुनः देखिन थालेको छ । रमाइलोसँगै मौलिक संस्कृति र परम्परा जोगाउने उद्देश्यले नयाँ पुस्ता पनि पञ्चेबाजा संरक्षणमा जुट्न थालेका छन् । यसले बाजुराको मौलिक पहिचानलाई जीवन्त बनाउने विश्वास लिइएको छ ।
बडिमालिका नगरपालिका–५ का स्थानीय दमाहा वादक जंग दमाइका अनुसार काम अनुसारको उचित पारिश्रमिक नपाउँदा केही समय पञ्चेबाजा बजाउने पेशा सङ्कटमा परेको थियो । “आम्दानी नहुँदा धेरै कलाकारहरू अन्य पेसातर्फ लाग्न बाध्य भयौँ ।” उनले भने,.. “तर आफ्नो सीप, कला र पहिचान जोगाउन फेरि सक्रिय भएका छौँ ।” स्थानीय स्तरमा लोकप्रिय झ्याली, कर्नाली र दमाहा बजाइने पञ्चेबाजा बाजुराको सांस्कृतिक धरोहरको रूपमा लिइन्छ । दमाई, नेपाली लगायत जातिको परम्परागत पेसाका रुपमा लिइने पञ्चेबाजा पछिल्लो समय गाउँ गाउँमा घन्किन थालेका छन् भने युवा पुस्ताले पनि सिक्न रुचि देखाउन थालेका छन् ।
त्रिवेणी नगरपालिका–९ पैमाका पञ्चेबाजा वादक तथा संस्कृतिका जानकार धर्म नेपालीले तीनै तहका सरकारले पञ्चेबाजा संरक्षणका लागि निश्चित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । “यदि संघ, प्रदेश र स्थानीय सरकारले तालिम, प्रोत्साहन र बजेटको व्यवस्था गर्न सके यसको जगेर्ना र पुस्तान्तरण गर्न सहज हुन्छ ।” उनले भने ।

स्थानीयको सक्रियता र बढ्दो चासोसँगै बाजुरामा पञ्चेबाजाले फेरि पुरानै रौनक फर्काउने सङ्केत देखिएको छ । यसले स्थानीय कलाकारको रोजगारी र सम्मानसमेत बढाउने अपेक्षा गरिएको छ ।





Comments
Latest Comments