आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई आत्मसात् गर्दै न्यौपानेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र भूमिहीनका समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
पूर्वाधार विकास र सडक सञ्जाल
न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक रूपान्तरणका लागि ‘कर्णाली करिडोर’ लाई प्राथमिकतामा राखेका छन् । कर्णाली नदीको किनारमा दिगो तटबन्धन गरी दुई लेनको सडक निर्माण गर्ने र यसलाई पर्यटन तथा रोजगारीसँग जोड्ने उनको योजना छ। यस्तै, टीकापुर-जोशीपुर-भजनी र बौनिया-जोशीपुर-भजनी सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने र सेती लोकमार्गको कामलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख छ। राष्ट्रिय गौरवको आयोजना ‘रानी जमरा कुलरिया सिंचाइ’ का बाँकी कामहरू समयमै सम्पन्न गर्न पहल गर्ने उनले बताए ।
स्वास्थ्य र शिक्षामा ‘हब’ बनाउने योजना
स्वास्थ्य क्षेत्रतर्फ, टीकापुर अस्पताललाई थप सुविधासम्पन्न बनाउँदै यस क्षेत्रमा निकै जटिल मानिएको सिकलसेल एनेमिया र जलन सम्बन्धी उपचारका लागि छुट्टै विशिष्टीकृत विभाग स्थापना गर्ने योजना उनले अघि सारेका छन् । शिक्षाका सम्बन्धमा टीकापुरलाई ‘एजुकेसन हब’ को रूपमा विकास गर्ने, प्राविधिक शिक्षाको विस्तार गर्ने र विश्वविद्यालयको पहुँच स्थानीय स्तरसम्म पुर्याउने न्यौपानेको संकल्प छ। साथै, जोशीपुर, जानकी र टीकापुर क्षेत्रमा स्वच्छ खानेपानीको दीर्घकालीन व्यवस्थापन गर्ने कार्यलाई उनले प्राथमिकता दिएका छन् ।

पर्यटन र वातावरण
सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य टीकापुर पार्कलाई आधुनिक पूर्वाधारसहित ‘वाटर पार्क’ का रूपमा विकास गर्ने र डल्फिन संरक्षण क्षेत्रलाई विश्वस्तरमा चिनाउँदै पर्या-पर्यटनका माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने योजना अघि सारिएको छ।
भूमिहीन र सुकुम्वासी समस्याको स्थायी समाधान
कैलालीको मुख्य समस्याको रूपमा रहेको सुकुम्वासी, मुक्त कमैया र अव्यवस्थित बसोबासीहरूको समस्यालाई न्यौपानेले उच्च प्राथमिकतामा राखेका छन् । कानुन बमोजिम प्रक्रिया पुर्याएर तत्काल लालपुर्जा वितरण गरी उनीहरूलाई भूमिमाथिको स्वामित्व प्रदान गर्ने उनको मुख्य चुनावी प्रतिबद्धता रहेको छ। कृषितर्फ, यस क्षेत्रलाई ‘आधुनिक कृषि औजार औद्योगिक केन्द्र’ को रूपमा विकास गरी किसानलाई प्रविधिसँग जोड्ने उनको योजना छ।
सुशासन र पारदर्शिताको नयाँ अभ्यास
उम्मेदवार न्यौपानेले राजनीतिलाई जनतासँग प्रत्यक्ष जोड्नका लागि ‘सांसद सचिवालय’ स्थापना गर्ने नौलो योजना ल्याएका छन् । जहाँबाट जनताका गुनासा सुनिने र तत्काल सम्बोधन गरिनेछ। साथै, आर्थिक पारदर्शिता कायम गर्न आफूले पाउने बजेट र खर्चको विवरण प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
सरकारी सेवा सुबिधा विपन्नलाई
उम्मेदवार न्यौपानेले आफू निर्वाचित भएपछि आफुले पाउने आफ्नो तलब तथा अन्य सरकारी सेवा-सुविधाहरू व्यक्तिगत रूपमा प्रयोग नगरी त्यस क्षेत्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षा (कक्षा १२ सम्म) का लागि खर्च गर्ने घोषणा गरेका छन् । “प्रतिनिधि सभा सदस्यको हैसियतले मैले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाहरु यस क्षेत्रका विपन्न परिवारका सन्तानहरुलाई माध्यमिक तह सम्मको शिक्षामा सहयोग गरिनेछ। म अधुरा एजेन्डालाई पूर्णता दिन र यस क्षेत्रको समृद्धिका लागि समर्पित छु ।” प्रतिबद्धता पत्रमा भनिएको छ ।





Comments
Latest Comments