नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्वहरूले आफूमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन्। सोमबार झापाको गौरीगञ्जस्थित देवीगञ्जमा स्थानीय मतदातासँग छलफल गर्दै ओलीले भदौ २३ र २४ गते जेनजी हरूको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंस मच्चाएको दाबी गरे।
उनले भने, ‘“तिनै तत्त्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाए । प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैन संसद् भवन र सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीहरूले नै बनाए ।” मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी पनि उनले गरे। गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले कुरा तोडमोड गरेकोमा उनले आपत्ति जनाए।
उनले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर घरमा पाइपबाट वितरण गर्नुपर्ने कुरामा जोड दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय स्थानीयसँगको छलफलमा केन्द्रित भएका छन्। सो क्षेत्रमा पुग्दा स्थानीयले टेलिफोनको टावर बनाइदिन माग गरे।






Comments
Latest Comments