नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ३ मा सुशासन र भौतिक पूर्वाधारलाई जोड दिँदै आफ्नो चुनावी घोषणा पत्र–२०८२ सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार भीम बडूवाल र समानुपातिक उम्मेदवार रिताकुमारी चौधरीले अघि सारेको यस घोषणा पत्रमा भ्रष्टाचार नियन्त्रण र ठुला आयोजनालाई विशेष प्राथमिकता दिइने उल्लेख छ । 

उम्मेदवारले सुशासन र पारदर्शितालाई निकै महत्वका साथ एजेन्डा बनाएका छन् । काँग्रेसले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै २०४६ साल पछिका सार्वजनिक पद धारण गर्ने उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कानुन निर्माणका लागि पहल गर्ने उल्लेख गरेका छन् । यस कदमले राजनीतिमा जबाफदेहिता र स्वच्छता ल्याउने उम्मेदवारहरूको विश्वास छ ।

यस्तै यस क्षेत्रको मुहार फेर्ने गरी ३८ किलोमिटर लामो ‘कान्द्रा नदी कोरिडोर’ निर्माणलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको छ । घोडाघोडीदेखि भजनीसम्म निर्माण हुने यस आयोजना अन्तर्गत तटबन्ध, नदी नियन्त्रण, हरित कोरिडोर र बाई रोड निर्माण गरिनेछ । यसले नदी कटान नियन्त्रण मात्र नगरी कृषि, पर्यटन र व्यापारिक क्षेत्रमा ठुलो टेवा पुर्‍याउने र वरपरको क्षेत्रमा चक्लाबन्दी खेतीको आधुनिक मोडल अपनाइने योजना काँग्रेस उम्मेदवारको छ ।

यस्तै सार्वजनिक गरिएको घोषणा पत्रमा युवा केन्द्रित राजनीतिलाई पनि महत्वका साथ उठाइएको छ । यसका लागि नयाँ पुस्ता (जेन जी युवा) लाई राजनीति र विकास प्रक्रियामा जोड्न ‘सांसदसँग युवा संवाद’ कार्यक्रमको नीति लिएको छ । प्रत्येक ६–६ महिनामा आयोजना हुने यस कार्यक्रममार्फत युवाका समस्या र विचारलाई प्रत्यक्ष सुनिने उल्लेख छ । साथै, युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न ‘युवा उद्यमशीलता कोष’ स्थापना गर्ने र डिजिटल मार्केटिङ तथा अनलाइन रोजगारका लागि प्राविधिक तालिम दिने व्यवस्थाको समेत लक्ष्य अघि सारिएको छ ।