दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार महाकाली नगरपालिका–४ कै २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेको आशंकामा अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडू, भाइ मनिस पाल तथा शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका राजेन्द्र डडाल रहेका छन्। पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती भएको खुलेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अस्मिता बियर बारमा दिपिकालाई जिस्काएको विषयलाई लिएर उनका श्रीमान् आशिक पालले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको देखिएको छ। पक्राउ परेकाहरूले दिएको बयानअनुसार आशिक पाल र उनका भाइ मनिसले कुटपिट गरी हत्या गरेको दाबी गरेका छन्। तथापि, उक्त बयानको सत्यता परीक्षण भइरहेको एसएसपी विष्टले जानकारी दिए।

अनुसन्धानका क्रममा मृतक घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। घटनापछि फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।