बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–५, कालसैन निवासी कालुबहादुर विष्टका ४० वर्षीय छोरा अम्मरसिंह विष्टको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान करिब ९ः३० बजे बुढीनन्दा नगरपालिका–५ स्थित कोल्ले खोलामा सिँचाइ कुलो खन्ने क्रममा विष्ट भिरबाट लडेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि कोल्टी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

बाजुरामा पछिल्लो समय भिरबाट लडेर ज्यान जाने घटनामा वृद्धि देखिएको छ। केही दिनअघि गौमुल गाउँपालिका र त्रिवेणी नगरपालिकामा पनि दुई युवकको भिरबाट लडेर मृत्यु भएको थियो। माघ महिनामात्रै जिल्लामा भिरबाट लडेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।