आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार सूर्य बहादुर थापाले आफ्नो विस्तृत र महत्वाकांक्षी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने लक्ष्यका साथ थापाले आर्थिक, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा रूपान्तरणकारी योजनाहरू अघि सारेको छ ।
व्यक्तिगत लाभ त्यागको घोषणा
उम्मेदवार थापाको प्रतिबद्धता पत्रमा सबैभन्दा आकर्षक पक्षका रूपमा आफू निर्वाचित भएमा राज्यबाट प्राप्त हुने सम्पूर्ण सेवा-सुविधा विपन्न तथा जेहेन्दार बालबालिकाको गुणस्तरीय शिक्षामा खर्च गर्ने घोषणा गरिएको छ। उनले आफूलाई ‘आवाजविहीनहरूको आवाज’ का रूपमा संसदमा प्रस्तुत गर्ने संकल्प गरेका छन् ।
आर्थिक र कृषि क्रान्ति: ५ हजारलाई रोजगारी
थापाले ‘हरित समृद्धि अभियान’ मार्फत ५ हजार युवालाई प्रत्यक्ष रोजगारी र २० हजार परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य राखरेको बताएका छन् । डुडेझारी औद्योगिक क्षेत्रलाई ‘एग्रो-प्रोसेसिङ र फुड पार्क’ को रूपमा विकास गर्ने, राजाकाँडामा फलफूल बगैँचा परियोजना सञ्चालन गर्ने र चोसेकाँडामा प्रिमियम कालिज क्लस्टर निर्माण गर्ने उनको योजना छ ।
पूर्वाधारमा ६ लेन सडकदेखि रानी जमरा-कुलरियासम्म
पूर्वाधार विकास अन्तर्गत चिसापानी-गड्डाचौकी ६ लेन एक्सप्रेसवे, सेती लोकमार्ग र रानी जमरा-कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणलाई तीव्रता दिने थापाको मुख्य एजेण्डा छ। “एक घर-एक धारा” अभियान, विद्युत विस्तार र बल्चौर-सरखोल जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माणलाई उनले प्राथमिकतामा राखेका छन् ।

शिक्षा र स्वास्थ्यमा ‘डिजिटल’ फड्को
शिक्षा क्षेत्रमा लम्की बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने र “पढ्दै-कमाउँदै” विशेष योजना ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ। स्वास्थ्यतर्फ लम्कीमा ट्रमा सेन्टर स्थापना, जनता अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति र सबै पालिकामा टेलिमेडिसिन सेवा पुर्याउने लक्ष्य थापाको छ।
भूमिहीन र सुकुम्बासी समस्याको समाधान
कैलालीको मुख्य समस्याका रूपमा रहेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यलाई थापाले आफ्नो कार्यकालको ठोस पहलका रूपमा प्रस्तुत गरेका छन् । साथै सोनाहा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्ने र बादी, राजी, मगर समुदायको संस्कृति संरक्षण गर्ने उनको योजना छ।
पर्यटन र सुशासन
‘गन्तव्य सुदूरपश्चिम’ अभियानमार्फत वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै थापाले राजाकाँडा केवलकार र कर्णालीमा र्याफ्टिङ जस्ता साहसिक पर्यटनका योजनाहरू अघि सारेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र ‘डिजिटल सेवा प्रणाली’ मार्फत सुशासन कायम गर्ने उनको दृढता छ।
उम्मेदवार थापाले क्षेत्र नं. २ को समग्र विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूसँग हार्दिक अपिल समेत गरेका छन् ।





Comments
Latest Comments