कैलालीको बर्दगोरियामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मार्गदर्शन एकेडेमीले बुधबार एक विशेष समारोहका बीच आफ्नो १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक सिंह गडसिलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “म निर्वाचित भएलगत्तै बर्दगोरियामा कलेज स्थापना गर्ने कार्यलाई प्राथमिकता दिएको छु,” अध्यक्ष कुँवरले भने, “शिक्षा क्षेत्रमा गरिने लगानीले नै नागरिकलाई सचेत बनाउँछ र अन्ततः देशलाई समृद्धिको बाटोमा लैजान्छ।”
वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल र पुरस्कार वितरण गरेको थियो। समारोहमा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विज्ञान प्रदर्शनी समेत गरेका थिए, जसलाई उपस्थित अतिथिहरूले रुचिपूर्वक अवलोकन गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिमकी चर्चित लोक देउडा गायिका दिक्रा देवी बादीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। उनले आफ्ना चर्चित देउडा भाकाहरूमार्फत शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई सांगीतिक मनोरञ्जन गराउँदा समारोह निकै उत्साहपूर्ण बनेको थियो।
समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल थिरेन्द्र गडसिलाले विद्यालयको आगामी कार्ययोजना स्पष्ट पारे ।
”मार्गदर्शन एकेडेमी अब नाम मात्र रहेन, यसलाई हामीले एउटा भरोसायोग्य ब्रान्डका रूपमा अगाडि बढाइरहेका छौँ। आगामी पाँच वर्षभित्र यसलाई यस क्षेत्रकै सर्वोत्कृष्ट विद्यालयको रूपमा स्थापित गर्ने हाम्रो दृढ अठोट छ।” उनले भने ।
कार्यक्रममा नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रमोद मल्ल, मार्गदर्शन एकेडेमीका संस्थापक सदस्य केशव बहादुर शाही, सहारा घरका सञ्चालक बल बहादुर विष्ट, बौनिया जेसीज वर्ष २०२६ का अध्यक्ष भीम बहादुर बिक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।






Comments
Latest Comments