नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन सम्पूर्ण नेपालीमा आह्वान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका हुन्।
सभापति थापाले २००७ सालको ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गरेका छन्। सोही क्रान्तिले नेपाललाई मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ डोर्याएको र राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गरेको उनको भनाइ छ।
थापाले सन्देशमा उल्लेख गरेअनुसार नेपालको पछिल्लो राजनीतिक विकासक्रमको मुख्य आधार पनि फागुन ७ को क्रान्ति नै हो। २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्म पुगेको यात्राको जननी २००७ सालकै क्रान्ति भएको उनको ठहर छ। राष्ट्रियता, प्रजातन्त्र, समावेशीता र समृद्धिको सपना एकअर्कासँग अन्योन्याश्रित रूपमा जोडिएको उनले बताएका छन्।
राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि बलिदान दिने शहीदहरूको स्मरण गर्दै थापाले शहीदप्रतिको सच्चा सम्मानका लागि संविधानको पूर्ण संरक्षण र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्व, देशमा दिगो आर्थिक समृद्धि हासिल गर्ने संकल्प लक्ष्यका अघि बढ्नु पर्ने बताएका छन् ।






Comments
Latest Comments