नेकपा (एमाले) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार अत्तरियास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्यकालका लागि विकास, स्थायित्व र समृद्धिको मार्गचित्र प्रस्तुत गरेका हुन ।
भट्टको प्रतिबद्धता पत्रमा विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिकीकरण र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र प्रविधिमैत्री शिक्षण प्रणाली अपनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ।
यस्तै शिक्षक तथा कर्मचारीहरूको सेवा–सुविधामा सुधार, पेशागत सुरक्षा र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना अघि सारिएको छ।
आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिकहरूमा विशेषज्ञ सेवा विस्तार गर्ने, आवश्यक उपकरण र जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य बीमालाई प्रभावकारी बनाइने तथा कृषिलाई व्यावसायिक बनाउन आधुनिक प्रविधि, उन्नत बीउ, मल र सिँचाइ सुविधा विस्तार गर्ने भट्टको योजना छ।
स्थानीय उत्पादनको संरक्षणका लागि शीत भण्डार निर्माण र उचित बजार व्यवस्थापनमा पहल, औद्योगिक कोरिडोरको विकास र सीपमूलक तालिममार्फत दलित, पिछडिएका र विपन्न नागरिकलाई आत्मनिर्भर बनाउँदै रोजगारीका अवसरहरू सिर्जना गरिने प्रतिबद्धतामा उल्लेख छ।

यसका साथै कैलाली-४ को भौतिक स्वरूप बदल्न सडक, पुल, तटबन्ध, विद्युतीकरण र स्वच्छ खानेपानीको व्यवस्थापनलाई तीव्रता दिने भट्टले बताउनुभयो। साथै, धार्मिक स्थल र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै होमस्टे र संग्रहालयमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भट्टले भने,… “कैलालीको समग्र विकास र राजनीतिक स्थायित्वका लागि एमालेको जित आवश्यक छ। मैले अघि सारेका यी योजनाहरू केवल कागजमा मात्र सीमित रहने छैनन्, यिनको पूर्ण कार्यान्वयनमार्फत यस क्षेत्रलाई समृद्ध बनाउने मेरो अठोट छ।”
उनले आफ्ना योजनाहरू कार्यान्वयनका लागि पुनः निर्वाचित गराउन मतदाताहरूसँग अपिल समेत गरेका छन ।





Comments
Latest Comments