प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र त्यो भूमिकालाई थप निष्ठापूर्वक निर्वाह गर्न आग्रह गरेका छन् ।
“निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलको आग्रह छ ।” विज्ञप्तिमा भनिएको छ ।

यस्तै, स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न, नगराउन काउन्सिलले आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैलाई अनुरोध गरेको छ । काउन्सिलले आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको र विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन समेत गरिरहेको जनाएको छ ।
“प्रेस स्वतन्त्रताका नाममा प्रेषित सामग्रीले कसैलाई लाभहानी पुग्न सक्दछ । तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्त्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकारहरू यस महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ । यस कार्यको हामीले अनुगमन गरिरहेका छौँ ।” विज्ञप्तिमा उल्लेख छ ।
श्रोतः रासस







Comments
Latest Comments
No comments yet.