गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा सिंहदरबारका प्रमुख प्रशासकीय भवनमा आगजनी गरिसकेको अभिव्यक्ति दिएका युवकमाथि मुद्दा नचल्ने निर्णय भएको छ । चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतममाथि सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेपछि अहिले आलोचना भइरहेको छ ।
उनीमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको थियो । भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहित प्रमुख प्रशासकीय भवनहरूमा आगजनी भएको थियो । आगजनी गरेको देखिने तस्बिर र भिडिओको आधारमा प्रहरीले पक्राउ गरी अभियोजन गर्दै आएको थियो । त्यही सिलसिलामा त्यही दिन आगजनी गरिसकेपछि एक मिडियालाई आगजनी गरिसकेको भन्दै अन्तर्वार्ता दिनेमा महेन्द्र पनि थिए ।

महेन्द्रले भनेका थिए,… “सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं।” यसरी अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई लामो समय लगाएर खोजी गरेको थियो । उनलाई घटना भएको झन्डै ५ महिनापछि गत माघ २२ गते पक्राउ गरिएको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनलाई गत शुक्रबार हाजिर जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यही दिन उनलाई छाडेको थियो ।







Comments
Latest Comments
No comments yet.