कैलालीको बर्दगोरिया गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नमुना गाउँपालिका बनाउने अभियानलाई तीव्रता दिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताएका छन् । शनिवार श्री साइनिङ स्टार एकेडेमीको ९औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा नि:शुल्क गर्ने योजना रहेको बताए ।

​उनका अनुसार गाउँपालिकाले हाल कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गर्दै आएको छ । अब त्यसलाई विस्तार गरेर माध्यमिक तह (कक्षा १२) सम्म पुर्‍याउन लागिएको हो। ​”हाम्रो मुख्य जोड नि:शुल्क र गुणस्तरीय शिक्षामा हो ।” अध्यक्ष कुँवरले भने ।

सरकारी लगानीको प्रतिफल सुनिश्चित गर्न संस्थागत (निजी) र सामुदायिक दुवै प्रकारका विद्यालयहरूको नियमित अनुगमन भइरहेको समेत उनले जानकारी दिए । शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ गाउँपालिका अघि बढेको उनको भनाइ थियो।
​
शिक्षा सँगै ​स्वास्थ्य क्षेत्रमा पनि सरकारको ध्यान केन्द्रित भएको समेत उनले बताए । पालिकाले सञ्चालनमा ल्याएको दोदोधरा अस्पतालले जिल्लाकै उत्कृष्ट सेवा दिइरहेको दाबी गर्दै उनले कैलालीका अन्य पालिकाको तुलनामा बर्दगोरियाको स्वास्थ्य सेवा प्रभावकारी रहेको उल्लेख गरे ।

उनले भने,… ​”अहिले अस्पतालबाट दैनिक करिब ३ सय जनाले स्वास्थ्य सेवा लिइरहनुभएको छ। यो हाम्रो लागि ठुलो उपलब्धि र गौरवको कुरा हो।”
​
​फरक प्रसङ्गमा बोल्दै अध्यक्ष कुँवरले बर्दगोरियावासीको लामो समयदेखिको खानेपानीको समस्या समाधान हुने चरणमा पुगेको बताए। विश्व बैङ्कको सहकार्यमा सङ्घीय सरकार र गाउँपालिकाले सबै ६ वटै वडामा खानेपानी योजनाको काम अगाडि बढाएको उनले जानकारी दिए ।

​”अबको १५ महिनाभित्र बर्दगोरियाका प्रत्येक घर-घरमा स्वच्छ खानेपानी पुग्नेछ ।” उनले भने । विकासका यी आयोजनाहरू सम्पन्न भएसँगै बर्दगोरियाको मुहार फेरिने विश्वास स्थानीयले लिएका छन्।