भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरी फरार भएका तीन जना नेपाली नागरिक प्रहरीको नियन्त्रणमा परेका छन्। चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१२ बस्ने रुपा कुमारी सिंह र अछाम प्रहरीले ढकारी गाउँपालिका–८ बस्ने पदम जैशीलाई पक्राउ गरेको हो।

​जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेकी रुपा कुमारी सिंहको साथबाट ६२ दशमलव ५५ ग्राम तौल भएका सुनका विभिन्न गरगहना, ५१७ दशमलव ५४ ग्राम चाँदीका गरगहना तथा बिस्कुट, २ दशमलव ४१ ग्रामको एक थान हरियो पत्थर र एक थान मोतिको माला बरामद गरिएको छ। उनीहरू दुवैलाई नियन्त्रणमा राखेर अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

​यसैगरी, सोही चोरीको घटनामा संलग्न भई चोरीका सामान लुकाएको अवस्थामा कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका कमल साउँदलाई भारतीय प्रहरीले दिल्लीबाट नियन्त्रणमा लिएको छ। उनको कोठाबाट पनि विभिन्न सुनचाँदीका गरगहना र बिस्कुट बरामद गरिएको छ।

​यस घटनामा संलग्न अन्य तीन जना नेपाली भने अझै फरार रहेका छन्। फरार हुनेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने प्रकाश जैशी, श्याम जैशी र टेक शाही रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।