कैलाली कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशु चौपाया व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ठुलो प्रशासनिक हेरफेर गरेको छ। गौशाला व्यवस्थापनमा केही कमजोरी देखिएको स्वीकार गर्दै गाउँपालिकाले हालको व्यवस्थापन समिति खारेज गरी अबदेखि पालिका आफैले प्रत्यक्ष रूपमा गौशाला सञ्चालन र निगरानी गर्ने निर्णय गरेको हो।

​गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले एक प्रेस विज्ञप्ति जारी गर्दै गौशालालाई जीवन्त र नमुना केन्द्र बनाउन यस्तो कदम चालिएको जानकारी दिनुभएको छ। ​विगतमा पूर्वाधारहरू सम्पन्न भए तापनि व्यवस्थापन समितिको कार्यशैली र नियमित अनुगमनमा देखिएको कमीका कारण पशुहरूको संरक्षणमा व्यावहारिक जटिलता उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। गौशालाको वास्तविक अवस्थाबारे समाचार सम्प्रेषण गरी ध्यानाकर्षण गराउने सञ्चार जगत र सहयोग गर्ने दाताहरूलाई अध्यक्ष कुँवरले धन्यवाद ज्ञापन गर्नुभएको छ। ​“सञ्चार माध्यमको रचनात्मक खबरदारीले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ। अब गौशालाको व्यवस्थापनमा कुनै सम्झौता हुने छैन।” अध्यक्ष कुँवरले भन्नु भयो ।

​गाउँपालिकाले अब गौशालाको पूर्ण जिम्मेवारी आफ्नो पशु शाखालाई सुम्पिने भएको छ। गौशालाकै प्रयोजनका लागि छुट्टै ट्याक्टर, ट्रली र हैरोको व्यवस्था गर्ने, गौशाला हाताभित्रै उन्नत जातको घाँस खेती गरी १२ महिना पर्याप्त आहारा सुनिश्चित गर्ने, सिधै पशुको पेटसम्म दानापानी पुग्ने प्रणाली बनाउने, पशु चिकित्सकद्वारा नियमित रूपमा गौशालाका गाईबस्तुको स्वास्थ्य जाँच गरिने तथा आहारा र उपचारमा कुनै कमी हुन नदिन पालिकाले आवश्यकता अनुसार थप बजेट व्यवस्थापन गर्ने भएको छ ।

​बर्दगोरियाका सडकहरू अहिले जिल्लाकै तुलनामा सुरक्षित र छाडा पशुमुक्त रहेको दाबी गर्दै गाउँपालिकाले यस सफलतालाई टिकाई राख्न कडा नीति ल्याउने भएको छ। आफ्ना पशुहरूलाई बेवारिसे रूपमा सडकमा छाड्ने किसानहरूलाई पहिचान गरी दण्डित गरिने नीति पालिकाले लिएको छ।

​गौशाला व्यवस्थापनका लागि गाउँपालिकाले वार्षिक १० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ भने प्रदेश सरकारको समन्वयमा त्यहाँ ३ वटा ठुला ट्रस्ट, आधुनिक डुँड, मूत्र सङ्कलन ट्याङ्क र बोरिङ जस्ता संरचनाहरू निर्माण भइसकेका छन्।

​साथै गाउँपालिकाले बर्दगोरियाको गौशालालाई सुदूरपश्चिमकै एक उत्कृष्ट गन्तव्य बनाउने सङ्कल्प गर्दै यस अभियानमा साथ दिन सम्पूर्ण सरोकारवाला र गाउँवासीहरूमा अपिल समेत गरेको छ।