कैलाली गएराती आगलागीमा परि एकजनाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर-१ सुखडमा रहेको विवेक रेस्टुरेन्टमा कार्यरत अन्दाजी ५० वर्षिय मीन बहादुर बोहराको घटना स्थलमै ज्यान गएको हो ।

प्रहरीका अनुसार मृतक बोहरा डडेलधुराको आलिताल गाउँपालिकाका हुन । उनले रातिको समयमा होटेल बन्द गरी कोठामा लामखुट्टे भगाउन अण्डाको क्यारेट बालेको र सोही आगो बिस्तारमा सल्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीका अनुसार मृतक बोहराको घरपरिवारसँग अहिले सम्म सम्पर्क हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि धनगढी पठाइएको छ । बोहरा लामो समय देखि होटेलमा सहयोगीको रुपमा काम गर्दै आएका थिए । स्थानीयहरुको सक्रियता संगै समयमै दमकल र प्रहरी पुग्दा आगो सहजै नियन्त्रणमा आएकाले अन्य क्षति हुनबाट जोगिएको छ ।